सङ्गीत क्षेत्रको इतिवृत्तान्त समेटिएको पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रको इतिवृत्तान्त समेटिएको पुस्तक ‘नेपाली सङ्गीतको अभिलेख’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । पाल्पा बुक्स बागबजारद्वारा प्रकाशित वरिष्ठ सङ्गीतकार प्राज्ञ बुलु मुकारुङले लेख्नुभएको उक्त पुस्तकले नेपाली सङ्गीतको इतिहासलाई समेट्ने प्रयास गरेको छ । 

जम्मा ८४८ पृष्ठमा संरचित पुस्तकमा नेपालको सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु-याएका छ हजार सङगीतकर्मी तथा संस्थाहरूको चर्चा गर्दै नेपाली सङ्गीतको लिच्छवीकाल, मल्लकाल, शाहकाल हुँदै वर्तमानसम्मको घटनाक्रमलाई उल्लेख गरिएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयोजनमा आज आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाली सङ्गीत तथा कलाको विकासलाई जीवन्त राख्न पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपालको सङ्गीत क्षेत्रका साथै राजनीतिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका मुकारुङ्को यो कृति नेपालको कला तथा सङ्गीतका क्षेत्रमा लाग्नेका लागि पनि निकै उपयोगी हुने उहाँले बताउनुभयो । 

नेपालको समग्र विकासमा सङ्गीत तथा कला क्षेत्रको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो । 

उक्त अवसरमा मन्त्री रिजालले बुलु मुकारुङ्को सङ्गीत भएका नरेन्द्रबहादुर श्रेष्ठको ‘अधरको मुस्कान’, राधेश्याम लेकालीको ‘आगत’, कमला कुँवरको ‘के मागूँ’, कमलसिंह कार्कीको ‘मुटुमा राखेको मान्छे’, जलेश्वरी श्रेष्ठको ‘चुम्बनबाट’, लक्ष्मी उप्रेतीको ‘जिन्दगीको बाटो’, वसुश्री पाण्डेको ‘यो मनको कुरा’, स्नेह पोखरेलको ‘नारी तिमी’, वीरु बाङ्देल (सिक्किम)को ‘कैले कैले’ लगायतका १२ वटा गीति एल्वम् विमोचन गर्नुभएको थियो । 

विमोचित अन्य एल्वमहरूमा सुरेश घिमिरे ‘निश्चिन्त’को ‘सुदीपन’, राजेन्द्र प्रसाद प्रसार्इं (क्यानाडा)को ‘प्रवास बोल्छ’, डा ध्रुवचन्द्र गौतम, डा.तारानाथ शर्मा, दौलतविक्रम विष्ट, इश्वर वल्लभ, डा विष्णु राई, यादव खरेल, श्रवण मुकारुङ, हरिभक्त कटुवाल, नरेन्द्रनाथ कोइराला आदिको ‘घराना’ रहेका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली समाजको रुपान्तरणमा कला सङ्गीतका माध्यमबाट साधकहरूले महत्वपूर्ण योगदान पु¥याए पनि त्यसको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो । 

देशको राजनीतिलाई समेत स्रष्टाहरूले विभिन्न माध्यमबाट मार्गनिर्देश गरेको उहाँको भनाइ थियो । 

नेपाली सङ्गीतको अभिलेख पुस्तकका स्रष्टा बुलु मुकारुङ्ले आफ्नो १६ वर्षको निरन्तर अध्ययन तथा खोजी पछि पुस्तकको प्रकाशन गरेको जानकारी गराउनुभयो । 

पुस्तकमा नेपालभित्र र नेपाल बाहिरका सिक्किम, आसाम, बर्मा जस्ता ठाउँमा वसी नेपाली सङ्गीत र कलाका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई समेट्ने प्रयास भएको उहाँले बताउनुभयो । 

उक्त अवसरमा कार्यक्रम संयोजक नरेन्द्रबहादुर श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, पूर्व सभासद् शोभाकर पराजुली लगायतले प्रकाशित पुस्तकले नेपाली सङ्गीत तथा कलाको क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु-याउने धारणा राख्नु भएको थियोे ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1