संवृद्ध लुम्बिनीका लागि आफ्नै बुद्ध सर्किट

rajan fotoराजन पौडेल ।  नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्कि रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्यअवस्थाका बावजुद पनि नेपालको भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्ेरकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना लुम्बिनी भ्रमण रहेको थियो । त्यसैले त उनले भन्दै थिइन, ‘मृत्यु अघि शान्ति भूमि टेक्ने चाहना पुरा गर्नकै लागि स्वास्थ्य कमजोर हुँदाहुँदै पनि म लुम्बिनी आउन चाहेँ ।’

लुम्बिनीका बारेमा ति फ्रेन्च पर्यटकको प्रतिक्रिया पाएका टुर अपरेटर्सले यस पंक्तिकारसँग भनेका थिए, ‘हामी त हरेक दिन लक्की पो रहेछौं तर, हामीले हाम्रै भूमिलाई अझैसम्म चिन्न सकेका रहेनछौं ।’

यस्तै आस्था र विश्वासका कारण विश्वशान्तिको पवित्रस्थलको रुपमा विकसित हुँदै गरेको बुद्धजन्मस्थल लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकहरु दिनदिनै बढ्दै छन् । लुम्बिनीको मुहार फेरिँदै जाँदा लुम्बिनी आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । यदि साँच्चै नै लुम्बिनी गुरुयोजना पुरा गर्न सक्ने हो भने, विश्वमा रहेका करिब एक अर्ब ५० करोड बौद्धमार्गी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल लुम्बिनी बन्न सम्भव छ ।

लुम्बिनीको ख्यातीका बारेमा अब त्यति धेरै बोल्न पर्दैन, तर बुद्धसँग जोडिएका कपिलवस्तुका तिलौराकोट, गोटिहवा, निग्लिहवा, कुदान, अरौराकोट, सगरहवा, रुपन्देहीकै देवदहमा रहेको बुद्धको मावली र बुद्धका अस्तुधातु राखिएका ८ स्थानमध्येको एक नवलपरासीको रामग्राम समेटेर एकीृकत विकासको आवश्यकता छ । यी ठाउँमा आवश्यक अन्वेषण र उत्खनन जरुरी छ । पर्यटन प्रवद्र्धनका लागि बुद्ध सर्किटका रुपमा यी ठाउँलाई पनि समावेश गरेर प्याकेजमा मार्केटिङ गर्न जरुरी छ । तर, त्यो भन्दा पहिला भौतिक पूर्वाधारको विकास अनिवार्य छ ।

यी क्षेत्रको विकास गर्न गठिन लुम्बिनी विकास कोषले सन् २००२/००३ तिर जम्माजम्मी २८ हजार आन्तरिक आम्दानी गथ्र्यो । अलिकति मात्र सुधार गर्नसक्ने हो भने अहिल्यै पनि ३५/३६ करोड आम्दानी गर्न सक्ने हैसियत बनाइसकेको छ । यदि साँच्चै नै लुम्बिनीको मुहार फेरिने हो भने नेपालमा धार्मिक र आत्ध्यात्मिक पर्यटनबाट राष्ट्रिय अर्थतन्त्रको पारोलाई माथि उकास्न मुस्किल पर्दैन ।

यसो हुनाको कारण लुम्बिनीमा आएको परिवर्तन हो । लुम्बिनीप्रति विश्वको चासो बढ्दै जानु, लुम्बिनीप्रति पर्यटन व्यवसायीको लगाव बढ्नु आदि कारणले लुम्बिनीको प्राचिन महत्व, वर्तमानको भौतिक वैभव र भोलिको समृद्ध लुम्बिनी सर्किटको सुखद भविष्यको रेखाचित्र स्पष्ट देखिन्छ । तर, यो रेखाचित्रलाई व्यवहारमा उतार्न राज्यबाट गम्भीर पहल हुन बाँकी छ ।

lumbini3
जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले परिकल्पना गरेको लुम्बिनी योजनालाई अघि बढाउन राज्य सक्षम छैन भने सहयोगी हातहरुलाई राष्ट्रहित अनुकुल हुनेगरी स्वीकार गर्न जरुरी छ । एकाध वर्ष अघि उत्तरी छिमेकी चीन सरकारको सहयोगमा लुम्बिनी विकासका केही अवधारणाहरु सार्वजनिक भए । एशिया प्यासिफिक एक्स्चेन्ज एण्ड को–अपरेशन (एपेक)ले लुम्बिनीको वृहत्तर विकासका लागि राष्ट्रसंघीय एक निकाय युनिडोसँग सम्झौता गऱ्यो । एकीकृत माओवादी अध्यक्ष प्रचण्ड एपेकका उपाध्यक्ष चुनिए । लुम्बिनी विकासमा नेपाल मात्र होइन भारतीय चासोको पनि सम्बोधन गर्नुपर्छ भन्ने बुझेका चिनियाहरु त्रिपक्षीय विकासका लागि सकारात्मक भएको दावी गरिरहेका छन् । तर, चिनिया चासो बढ्ने वित्तिकै दक्षिणी छिमेकी भारत तरङ्गित भयो । लुम्बिनीहुँदै भारत घेर्ने चिनिया योजनाले रातो घेरा पार गर्न लागेको भन्दै नियन्त्रणका लागि भारतले हस्तक्षेप बढाउनुपर्छ भनेर आजसम्म पनि भारतीय सुरक्षा सल्लाहकार जयदेव रानादेहरु लविङ गरिरहेका छन् । लुम्बिनीप्रति कहिल्यै सकारात्मक नभएको भारत चिनियालाई रोक्ने नामै भएपनि लुम्बिनीमा चासो देखाउन थाल्यो । उता, नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री बनेपछि त भारतमा रहेका बौद्धस्थलहरुको पर्यटन प्रवद्र्धनका लागि समेत नयाँ योजनाहरु बनेका छन् । ती योजनाभित्र नेपालको लुम्बिनीलाई पनि समावेश गर्ने भारतीय चाहना सार्वजनिक भैसकेका छन् । नेपालले समयमै सचेत ढंगले दुई छिमेकीका चाहनालाई सन्तुलनमा राख्दै राष्ट्रिय हित अनुकुल हुने गरी लुम्बिनी क्षेत्रको विकासमा आकर्षित गर्न सक्ने थप आधारहरु बढेका छन् ।

चीन र भारतीय अवधारणालाई उचित ढंगले सम्बोधन गर्नसक्ने गरी नेपालले पहलकदमी लिने हो भने लुम्बिनी क्षेत्रको थप विकास हुनसक्ने देखिन्छ । लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासीका पवित्र बौद्धस्थलहरुलाई अनिवार्य गन्तव्यका रुपमा विकास गराउन नेपालले भारत र चीनसँगको छलफललाई अघि बढाउन सके नेपालको पर्यटन प्रवद्र्धन, धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणमा सकारात्मक अध्याय थपिनसक्छ ।

बुद्ध सर्किटको भारतीय योजना

काठमाडौंमा सम्पन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको १८औं शिखर सम्मेलनको उद्घाटन सत्रमा श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षेले सार्क क्षेत्रलाई समेट्ने गरी बुद्ध सर्किट बन्नुपर्ने मत सार्वजनिक गरे । राजापाक्षेले सम्मेलनमा यति भनिसकेपछि भाषणबाजीबाट सबैलाई प्रभावित पार्ने कला भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो विषय छुटाएनन् । मोदीभाषणमा बुद्धसर्किटले गतिलो स्थान पायो । नेपाल स्वयंले पनि आफ्नो हैसियत अनुसार लामो समयदेखि बुद्ध सर्किट बन्नुपर्ने मत सार्वजनिक गर्दै आएको छ ।

दक्षिण एशियाली राष्ट्रमध्ये भुटान बौद्ध धर्मप्रति स्वयं आस्थावान छ भने अफगानिस्तानमा सयौं वर्षपहिलेदेखि रहेका बुद्धका भीमकाय बामियान मूर्ति (जसलाई तालिवानले सन् २००१ मा ध्वस्त बनाएका थिए)का कारण बौद्ध संस्कृतिसँग कतै न कतै जोडिएकै छ । श्रीलंका त्यसै पनि बौद्ध धर्मका लागि प्रख्यात छ । बाँकी रहे मालदिभ्स र पाकिस्तान । यी दुबै राष्ट्रको पनि अनुमति पाएपछि ३६ बुँदे सार्क घोषणापत्रमा बुद्धसर्किटको विकास गर्ने कुरालाई डकुमेन्टेशन गरियो । सार्कका प्रतिवद्धताहरुलाई यदि पालना गरिने हो भने सार्कक्षेत्रलाई समेट्ने गरी बुद्धसर्किट बन्नेछ ।

सार्क राष्ट्रमा बुद्ध सर्किट बन्ला या नबन्ला, सार्कको प्रभावाशाली देश भारतले भने बुद्ध सर्किटको अवधारणालाई अघि बढाउन सुरु गरेको छ । भारतले बुद्ध सर्किटमा नेपालको लुम्बिनीलाई पनि समेट्न खोजेको छ । बोधगया, सारनाथ, कुशिनगर लगायतका ठाउँलाई समेट्दै सर्किटमार्फत लुम्बिनी जोड्ने भारतको योजना भने रणनीतिक रहेको छ । विश्वभरका बौद्धमार्गी पर्यटकहरुलाई भारतमा आकर्षित गर्न सहज मार्केटिङ हुने कारणले नै लुम्बिनीलाई बुद्ध सर्किटमा जोड्ने उद्देश्य भारतले लिएको देखिन्छ ।
तर, भारतीय योजनाअनुसार सर्किट बनाउन अनुमति दिने हो भने कपिलवस्तु र देवदह, रामग्राम लगायतका नेपाली बौद्ध भूमि ५० वर्ष पछि पर्ने बताउँछन् लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्वो । यसबाट लुम्बिनीको पर्यटन समेत धक्का पुग्ने बताउँछन् उपाध्यक्ष स्याङ्वो । यो भन्नका लागि तार्किक आधारहरु छन् । भारतीय बुद्धसर्किटको सम्पूर्ण प्याकेज डिल भारतमा हुनेछ । भारतीय टुर अपरेटर्सहरुले गर्ने त्यो प्याकेज डिलमा नेपालमा पर्यटकको बसाई बढीमा एक रातको मात्र हुनेछ । त्यो एकरातको बसाईमा लुम्बिनी त पुरै घुम्न सकिँदैन । कपिलवस्तु र देवदह रामग्रामको त कुरै नगरौं ।

त्यसो त, स्थलमार्गमध्ये सबैभन्दा बढी पर्यटक भित्रने नाका बेलहियाबाट लुम्बिनीका लागि सबैभन्दा धेरै पर्यटकरु आउने गर्छन् । यसरी घुम्न आउने पर्यटकमध्ये धेरैजसो लुम्बिनी पुग्छन् । यसमा पनि श्रीलंकाबाट आउने पर्यटकहरु धेरै हुन्छन् । भारतहुँदै नेपाल प्रवेश गर्ने यि पर्यटकहरु नेपालमा केही घण्टा वा मुस्किलले एक रात बिताउँछन् र पुन: भारत फर्किन्छन् । बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई अध्यागमनमा समेत नओराली सिधै लुम्बिनी पुऱ्याइन्छ, दुईचार घण्टा घुमाइन्छ । पर्यटकहरुको सम्बन्ध नेपालसँग सिधै जोडिदैन । भारतीय टुर अपरेटर्सले नै लुम्बिनी पुऱ्याउँछन, घुमाउँछन् र फकाएउँछन् । नेपाली पर्यटन व्यवसायी, टुर अपरेटर्स, होटल व्यवसायीहरुसँग उनीहरु कतैबाट पनि जोडिन्नन् । यसरी आउने पर्यटकहरुलाई लुम्बिनीकै बारेमा गलत सूचना सम्प्रेषण हुने सम्भावना बढी हुनसक्ने भन्दै नेपाली पर्यटन व्यवसायीहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

अहिले नै यस्तो अवस्था छ भने भोलिका दिनमा लुम्बिनीलाई भारतीय सर्किटभित्र पारिसके पछिको लुम्बिनी पर्यटन कस्तो होला ? अहिलेकै अवस्थामा यो सर्किटबाट नेपालको पर्यटन व्यवसायमा के प्रभाव पर्ला ? अब हामी आँफै विश्लेषण गरौं ।

नेपालको कमजोरी

हो, बुद्धले भारतमा बुद्धत्व प्राप्त गरे, भारबाटै बुद्धत्वको प्रचारप्रसार सुरु गरे, र देहत्याग समेत भारतमै गरे । यसमा कसैको विरोध छैन । तर, बुद्धको शैशवकालदेखि युवाकालसम्मको बुझ्न सकिएन बुद्धको बारेमा अपुरो बुझाइ हुनेछ । लुम्बिनी घुम्न आउने पर्यटकलाई यसकारणले पनि लुम्बिनीसहित तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा लगायत कपिलवस्तुका बौद्धक्षेत्र, बुद्धको मावली देवदह र बुद्धको अष्ट धातु रहेको विश्वास गरिएको नवलपरासीको रामग्राम घुम्ने वातावरण बनाइनुपर्छ ।
यी सबै क्षेत्रलाई समावेश गरेर नेपालले पहिल्यै बुद्धसर्किट बनाउनुपथ्र्यो, तर, नेपाल त्यो काम गर्न सकने । बुद्ध जन्मस्थल नेपाल हो भनेर विश्वस्तरमा प्रचार गर्नुपर्ने बाध्यताबाट बल्ल तङ्ग्रिदैछ नेपाल ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसद्मा बुद्ध जन्मस्थल नेपाल हो भनिदिँदा हामी ताली पड्काएर राहतको महशुस गछौं । अवस्था यहाँसम्म कमजोर छ हाम्रो । मोदी भाषणले बुद्ध चाहिँ नेपालमै जन्मेका हुन भनिदिँदा नि:शुल्क मार्केटिङभएको महशुस गछौं । तर, तिनै मोदीले नेपाल भ्रमणको केहिदिनमै जापान पुगेर बुद्धभुमि भारतमा जापानी पर्यटकलाई स्वागत गर्न हिन्दुस्तान आतुर रहेको बताइदिए । करोडौं खर्च गरेर बनाइएका भारतीय पर्यटन व्यवसायीका ‘भ्रमण प्याकेज’का विज्ञापन भन्दा मोदीको जापान भाषण बढ्ता बलशाली थियो, जापानी पर्यटकलाई आकर्षित गर्न ।

चर्चाको चरणमा रहेको भारतीय बुद्ध सर्किटको योजना आज कार्यान्वयनको चरणमा प्रवेश गर्दैगर्दा नेपाललाई भने आफ्नै सम्पदा चिन्ने फुर्सद मिलिसकेको छैन । भारतीय सम्राट अशोकले बुद्ध जन्मभूमि नेपाल भएको अकाट्टय प्रमाण दिँदादिँदै हामीले त्यो प्रमाणलाई बलशाली बनाउन सकेनौं । बरु, छिमेकी भारतले त बरु नक्कली तिलौराकोट र लुम्बिनी खडा गर्दै दुनियाँलाई लामो समय भ्रमित बनाउन सफल भयो । तर, हामी त अझैसम्म पनि ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर विश्वलाई स्पष्टिकरण दिइरहेका छौं ।

लुम्बिनीलाई चिनाउन नेपालस्वयंले पहिलो पहल गर्नुपर्ने बताउँछन् कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्वो । नेपालले आफैले छुट्टै बुद्धसकिर्ट बनाउन पहिलो पहल गरेमा मात्र बुद्धसँग जोडिएका हाम्रा सबै सम्पदाबारे विश्वलाई चिनाउन सकिने उपाध्यक्ष शेर्पाको विश्वास छ । भारतीय बुद्ध सर्किटमा त्यसपछि मात्र ति क्षेत्रलाई समावेश गराउन लविङ गर्न सकिने विश्वास छ उपाध्यक्ष स्याङ्वोको ।

भारतले प्रस्ताव गरेको बुद्धसकिर्टमा लुम्बिनीलाई मात्रै जोड्दा नेपाललाई नाफाभन्दा नोक्सान बढी हुने अनुमान गरेको छ लुम्बिनी विकास कोषले । कोषले बुद्ध सकिर्टमा लुम्बिनीलाई मात्रै समावेश गरे बुद्धसँग अन्यौयाश्रित जोडिएका तिलौराकोट, देवदह लगायतका क्षेत्र ओझेलमा पर्ने भएकाले नेपाललाई नाफाभन्दा बढी नोक्सान हुने विश्लेषण गरिएको हो । ती क्षेत्रमा आउने पर्यटकलाई पनि नेपालले गुमाउनुपर्ने हुनसक्छ । यसकारणले, ‘तिलौराकोट, देवदह र रामग्राम क्षेत्र प्रस्तावित सकिर्टमा नराख्ने हो भन्ने भारतसँग जोडिनुको कुनै अर्थ छैन, बरु नेपाली आफैले बौद्ध सकिर्ट बनाएर विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्छ’, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङबो शेर्पा भन्छन् ।

उता, भारतले बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी करिब ७०० किलोमिटर क्षेत्र समेटेर बुद्ध सकिर्ट बनाउने कामलाई तीब्रता दिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, शिष्यलाई पहिलोपटक बुद्धत्वबारे प्रवचन दिएको सारनाथ र देहत्याग गरेको कुशीनगरसँग जोड्ने गरी बौद्ध सकिर्ट बनाउन दु्रतगतिमा योजनाहरु बनेका छन् । यो सर्किटमा बुद्धजन्मस्थल लुम्बिनीलाई पनि समेट्ने योजना छ भारतको । सातसय किलोमिटर छुनेगरी नयाँ सडक र रेलमार्गको विस्तार, पाँच तारे होटलहरु, विमानस्थल निर्माण गर्ने योजना गत सेप्टेम्बरमा बोधगयामा गरिएको बुद्धइन्टरनेशनल फेस्टिवलमा केन्द्रीय पर्यटन राज्यमन्त्री श्रीपद नायकले सार्वजनिक गरेका थिए । बोधगया, नालन्दा र राजगीरका लागि त छुट्टै १ अर्ब भारतीय रुपैयाँ विनियोजित भैसकेको छ ।

प्रस्तावित भारतीय बुद्ध सर्किट लुम्बिनीको विकासका लागि पनि फलदायी हुनसक्ने विश्वास नेपालमा सरकारीस्तरबाट गरिएको भए पनि लुम्बिनीलाई मात्र जोड्दा यसले उल्टो असर पर्ने स्पष्टै छ । कोषका उपाध्यक्ष शेर्पाका अनुसार प्रस्तावित सकिर्टमा बुद्धले युवावस्था बिताएको कपिलवस्तुको तिलौराकोट र बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम जोड्न सक्ने हो भने मात्र त्यसबाट नेपाललाई फाइदा पुग्नेछ ।

स्याङवोले भनेका छन्, ‘तिलौराकोट र रामग्राम क्षेत्र प्रस्तावित सकिर्टमा नराख्ने हो भन्ने भारतसँग जोडिनुको कुनै अर्थ छैन, बरु नेपाली बुद्ध सकिर्ट बनाएर विदेशी पर्यटकलाई आकर्षित गर्नुपर्छ । ?

अवरोध भौतिक पूर्वाधार पनि

करिब ५० किलोमिटर क्षेत्रभित्र पर्ने बुद्धसँग जोडिएका क्षेत्रमा पुग्ने भौतिक पूर्वाधार अस्तव्यस्त हुनु नेपालका लागि दुर्भाग्य हो । यो दुर्भाग्य भारतीय वा चिनियाहरुले निम्त्याएका होइनन्, नेपालले नै बनाएको हो । लुम्बिनी क्षेत्रभित्रको गुरुयोजना अझैसम्म पुरा हुन सकेको छैन । सरकारले राष्ट्रिय गौरवको योजनाभित्र पारेपछि केही गति लिएको गुरुयोजना पुरा भएपछि मात्र भौतिक अवस्थामा सुधार हुनसक्छ । तर, लुम्बिनीलाई केन्द्रमानेर तिलौराकोट र देवदह रामग्रामसम्मको क्षेत्रलाई नै विकास गर्न नसक्ने हो भने भोलिका दिनमा लुम्बिनीमा बुद्ध जन्मेका हुन् भनेर मात्र हामीले चित्त बुझाउनु पर्नेछ । बुद्धसँग सम्बन्धित अन्य सबै विषयहरु कागजमै मात्र सीमित हुनेछन् । नेपालको पर्यटन व्यवसाय ५० वर्षभन्दा पछि पर्ने छ । हिन्दुका लागि चारधाम, मुस्लिमका लागि मक्कामदिना, क्रिश्चियनका लागि रोम भएजस्तै बौद्धिष्टहरुका लागि लुम्बिनी बनाउने परिकल्पना केवल परिकल्पनामा सीमित हुनेछ ।

लुम्बिनीको ऐतिहासिक महत्वका बारेमा बुझन अशोक स्तम्भ जति आधिकारिक छ, कपिलवस्तुका गोटिहवा र निग्लिहवामा रहेका अन्य दुई अशोक स्तम्भ, कुदान र तिलौराकोटबारे चिनिया यात्रीहरुले गरेको वर्णन उत्तिनै महत्वपूर्ण छ । इस्वीको पाँचौं शताब्दीमा चिनिया यात्री फा–स्यान र सातौं शताब्दीमा यायान–च्वाङको वर्णनले लुम्बिनी र आसपासको इतिहासलाई जीवित राख्न मद्दत मिलेको छ । यिनीहरुको यात्रा विवरणको आधारमा नै बुद्ध जन्मस्थल लुम्बिनी, गृहनगर तथा शाक्यहरुको राजधानी कपिलवस्तु, रामग्रामलगायत बुद्ध तथा बौद्ध धर्मसँग सम्बन्धित पुरातात्विक क्षेत्रको खोजीकार्य गर्न सहयोग पुगेको लुम्बिनी विकास कोषको ठहर छ । बुद्ध तथा बुद्ध दर्शन र बुद्ध धर्मप्रति सयौंवर्षदेखि गरिएका अध्ययन अनुसन्धानले लुम्बिनी, तिलौराकोट र साथमा बुद्धको मावली देवदह र रामग्रामलाई संयुक्त रुपमा पवित्र स्थानको रुपमा रहेको विश्वास गरिन्छ ।

हो, अहिलेसम्मका अध्ययनबाट पवित्र मानिएका यी स्थानमा पुग्न अहिल्यै पनि कतिपय विदेशी पर्यटक इच्छुक छन् । तर, यी ठाउँसम्म पुग्ने राम्रो सडक छैन । आन्तरिक हुन वा बाह्य सबैप्रकारका पर्यटक, बौद्ध भिक्षुहरुको चाहना पुरा गर्न सक्ने अवस्था तत्कालका लागि छैन । भौतिक पूर्वाधारको अभावमा एउटै प्याकेजमा राखेर लुम्बिनी, तिलौराकोट र देवदह रामग्राम घुम्न नपाउँदा पर्यटकहरु खिन्न बन्छन् । सामान्य सडक सञ्जालले छोएपनि रातै बिताउनका लागि आवश्यक पूर्वाधार छैनन् । नत, राम्रो सडक सुविधा छ, कसैगरी ती ठाउँमा पुगेपनि विश्राम गर्ने उपयुक्त विश्रामस्थल (होटल)हरु नै छन् ।

लुम्बिनी पश्चिम र लुम्बिनी पुर्वमा रहेका यी पवित्र स्थानहरुलाई एउटै बास्केटमा राख्न सकियो भने मात्र लुम्बिनीको थप प्रचारप्रसार हुने निश्चित छ । तर, यसका लागि राज्यस्तरबाट अभूतपूर्व कामको अपेक्षा गरिएको छ । भारतीय बुद्धसर्किटमा लुम्बिनीलाई मात्र पार्दा भोलिका दिनमा लुम्बिनी आउने पर्यटकको संख्या त बढेको देखिएला तर, ती पर्यटकको बसाई र खर्च अवधी भने बढ्ने छैन ।

हामीसँग बुद्धसँग जोडिएका यतिधेरै सम्पदा भएपनि बौद्धमार्गीलाई र सबैप्रकारका पर्यटकलाई ती ठाउँमा पुऱ्याउन सक्ने हैसियत बनिसकेको छैन । अहिलेसम्म लुम्बिनीमात्र बौद्धमार्गीहरुको गन्तव्यस्थल बनिरहेकोमा बुद्धसँग जोडिएका यी सबै क्षेत्रलाई गन्तव्यस्थलको रुपमा विकास गर्न राज्यस्तरबाटै तत्काल पहल गर्नुपर्छ । बुद्ध सर्किटमा जोडिएका सबैस्थलको एकीकृत विकास गर्नसक्नेहो भने मात्र समृद्ध लुम्बिनीको सपना पुरा हुनसक्छ ।
(यो आलेखको सम्पादित अंश नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ)

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

1 Comment for “संवृद्ध लुम्बिनीका लागि आफ्नै बुद्ध सर्किट”

  1. Dilli Bhattarai

    नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७ किलोमिटर उत्तरपूर्वको मावली गाउँ देवदह, सुर्खेतको काँक्रेविहार, पोखराका शान्ति स्तूप, मुस्ताङको लोमान्थाङ र मुक्तिनाथ, काठमाडौंको स्वयम्भू र बौद्ध, काभ्रेको नमोबुद्ध, खोटाङको हलेसी र झापाको दमकमा बनाउन लागिएको छ। यस् राष्ट्रिय बौद्ध सर्किटले नेपालमा आय र रोजगारी बढाउनेछ । यस् सर्किटमा नेपालका उत्तरी जिल्लाहरु (दार्चुल, बझाङ, हुम्ला, मुगू, डोल्पा, मनाङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्भु, संखुवासभा र ताप्लेजुङ्) परेका छैनन । तर ति जिल्लाहरुमा पनि धेरै बौद्ध मन्दिर/गुम्बाहरु भएको हुँदा ति जिल्लामा कसरी धार्मिक पर्यटन बढाउने र त्यहा आय र रोजगारी बढाउने भन्ने कुरा सोच्नु आबस्यक छ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1