फिल्म निर्माणमा कलाकार

karisma
नाफा नहुने भए कसैले लगानी गर्छ ? फिल्म हात पर्ने क्रम ओरालिँदै गएपछि निर्माणमा हात हालेकी रेजिना उप्रेतीले भनेकी थिइन्– अरूले फिल्म बनाउनु र हामी (कलाकार)ले बनाउनुमा अटोम्याटिकल्ली डिफरेन्ट हुन्छ ।

रेजिनाले भनेको कुरा सही रहेछ । उनको फिल्म ‘अटोम्याटिकल्ली डिफरेन्ट’चाहिँ भयो । ‘डिफरेन्ट’ अर्थात् फरक । फरकचाहिँ के भयो भने ‘रेजिना उप्रेतीको वरदान’ भन्दा पनि हलमा दर्शक आएनन् । जसकारण उनलाई उनकी पार्टनर कविता श्रेष्ठले फिल्मको घाटा असुल गर्न मुद्दामामिला गर्नुपर्‍यो । दिदीबहिनीको सम्बन्ध समाप्तै भयो । रेजिनाले पुन: निर्मात्री हुने आँट गरिनन् ।

रेजिनाको फिल्मको मात्र कुरा होइन, तत्कालीन नम्बर एक हिरोइन करिश्मा मानन्धरले निर्माण गरेको ढुकढुकीले पनि प्रचुर दर्शक पाएन । त्यसपछिको उनको बाबुसाहेबले त पीडा दियो । बाबुसाहेब फ्लप भएपछि करिश्मा ६ वर्ष अमेरिकातिरै बसिन् । करिश्माले त्यतिवेलै घोषणा गरेको जुनेली पनि बनेन । अहिले आएर उनी पुन: फिल्म निर्माण गर्न कस्सिएकी छिन् । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा करिश्माले निर्माण गर्न लागेको अनटाइटल्ड फिल्मको निर्देशन भने सम्झना उप्रेती रौनियारले गर्ने भएकी छिन् ।

चर्चित कलाकारले निर्माण गरेको फिल्मप्रति दर्शकको आशा धेरै हुने र त्यसअनुसार तगडा फिल्म बनाउन र मार्केटिङ गर्न नसक्ने हो भने घाटासिवाय अरू उपलब्ध हासिल नहुने तर्क छ, निर्माता तथा वितरक माधव वाग्लेको । ‘म सुपरस्टार हुँ भनेर धक्कु लगाएर के गर्नु ? फिल्ममै दम हुनुपर्छ,’ उनी भन्छन्, ‘साथीभाइले वाह–वाह गरेर मात्र भएन, दर्शक तान्न सक्नुपर्‍यो नि ।’ वाग्लेले कतिपय कलाकारले हचुवाका भरमा फिल्म निर्माण र प्रदर्शन गर्ने भएकाले धोका पाइरहेको बताए ।

‘कलाकारको फिल्मप्रति दर्शकको एक्स्पेक्टेसन हाई हुन्छ,’ रोमान्स किङ अभिनेता तथा निर्माता भुवन केसी भन्छन्, ‘त्यही भएर म धेरै सोचविचार गरेर मात्र फिल्म बनाउँछु ।’ उनले आफूले दर्शकको रुचि बुझेर फिल्म बनाउने गरेकाले अहिलेसम्म घाटा नभएको दाबी गरे ।

पूर्ण व्यावसायिक दृष्टिबाट फिल्म बनाए घाटा नहुने बताउँछन् आर्यन सिग्देल । ‘पर्दामा देखाउने कुरामा कम्प्रोमाइज गर्नुभएन,’ नोभेम्बर रेनपछि क्लासिक नामक फिल्म निर्माण गर्न लागेका उनी भन्छन्, ‘म कलाकार हुँ, स्टार हुँ भनेर अहमता राख्नुहँुदैन । त्यसो गर्नु दर्शकप्रति अन्याय हो ।’

बिर्खेलाई चिन्छस्का निर्मातासमेत रहेका अभिनेता सुवास थापा फिल्म राम्रो बनाएर मात्र नहुने बताउँछन् । ‘मार्केटिङ र रिलिजिङबीचको तारतम्य पनि मिल्नुपर्दाे रहेछ,’ बिर्खेले आफूलाई घाटा नलगाए पनि अपेक्षित फाइदा नदिएको स्वीकार्दै उनले भने, ‘सबै कुरा मिल्नुपर्दाे रहेछ । तर, फिल्मचाहिँ राम्रो बनाउनैपर्छ । नत्र खैरियत छैन ।’

निर्मात्री अभिनेत्री झरना थापाले निर्माण गरेका धर्मसंकट, गोर्खाली, ए मेरो हजुर र तक्दिरबाट मुनाफा कमाए पनि दुई वर्षअघि निर्माण गरेको फेसबुकले भने डुबायो । जसकारण उनमा हत्तपत्त फिल्म बनाइहाल्ने सोच आएन रे । तर, अब भने उनी आफ्नै निर्देशनमा– ए मेरो हजुर–२ बनाउने तयारीमा छिन् । अचेल अभिनयमा अलि फुर्सदिली भएकी झरना नयाँ वर्षसँगै निर्देशनमा उत्रने तयारीमा छिन् ।

पुरानी हिरोइन मौसमी मल्लले निर्माण गरेको गिरफ्तार हिट भएको थियो । तर, उनले आफ्नो छोरा बिक्कीलाई हिरो बनाएको समय भने फ्लप भयो । त्यसपछि उनले फिल्म बनाएको सुनिएको छैन । जेनी  कुँवर त अभिनेत्री मात्र नभई निर्मात्रीसमेत हुन् । उनले घायल र हलचल दुई फिल्म निर्माण गरिन् । ‘घाटा भयो’ भन्दै फिल्म बनाउन मात्र होइन, अभिनयमा पनि विश्राम लिएकी छिन् । ऋचा घिमिरेले निर्माण गरेको ब्रेकफेल असफल भयो । ऋचा पति शंकर घिमिरेका साथ अमेरिकामा रहेकाले तुलसी पनि रिलिज भएको छैन । शंकर केही महिनापछि स्वदेश फर्किएर तुलसी रिलिज गर्ने योजनामा छन् ।

निखिल उप्रेती त हिरोमा जम्दैदेखि नै निर्माणमा  लागेका हुन् । उनले निर्माण गरेको सावधान र संयुक्त लगानीको निशाना पनि ठिकठाकै भएको थियो । अहिले आएर उनी आफ्नै निर्देशनमा भैरव निर्माण गरिरहेका छन् । भैरव वैशाख १८ मा रिलिज हुने कुरा छ । अभिनेता नीरज बरालले निर्माण गरेको स्टुपिड मनले मुनाफा त दिएन, तर घाटा पनि नलागेको निर्माण पक्षको दाबी छ । अर्का अभिनेता सुमन सिंह पनि फिल्म बनाउने तयारीमा छन् ।

रेखा थापा अभिनेत्री मात्र नभई निर्मात्रीका रूपमा परिचित छिन् । काली, हिम्मतवालीपछि उनी रामप्यारीको तयारीमा छिन् । पछिल्लो समय नम्रता श्रेष्ठले पनि फिल्म निर्माण गरेकी छिन् । उनले निर्माण गरेको सोल सिस्टर माघ २ गते रिलिज हुने सुन्नमा आएको छ । पूर्वमिस नेपाल माल्भिका सुब्बाले हाल हाउ फन्नी निर्माण गरिरहेकी छिन् । सिजी इन्टरटेन्मेन्टसँग मिलेर ऋचा शर्मा र विनय श्रेष्ठले निर्माण गरेको भिसा गर्ल फ्लप भयो । त्यसपछि भिसा गर्लका निर्देशक प्रचण्डमान श्रेष्ठले अर्काे फिल्म निर्देशन गरेको खबर आएको छैन । ऋचाले पनि फिल्म बनाएकी छैनन् । तर, विनयले भने रेशम फिलिली निर्माण गरेका छन् । सबैको एउटै आशा छ– मेरो फिल्म सुपरहिट हुन्छ । -नयाँ पत्रिका दैनिकबाट

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1