प्रदेश नं ४ को विशिष्ट धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुँदै व्यास क्षेत्र


पोखरा । नेपालको पर्यटकीय राजधानीका रुपमा ख्याती कमाएको सुन्दर नगरी पोखराको नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने भएको छ ।

पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासमा दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहँुको सक्रियतामा करिब २७ करोड रुपैयाँको लागतमा १०८ फिटको मूर्तिसहित विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिएको छ ।

चार वेदका संग्रहकर्ता, अठार पुराण उपपुराणका स्मृतिकार एवम् ब्रह्मसूत्र तथा उत्तरमिमांसा(उपनिषद्)का प्रणेता महर्षि वेदव्यासको जन्म तथा कर्मभूमि व्यास क्षेत्र पूर्वाधार विकास एवं प्रचारप्रसारकै अभावमा अपेक्षित विकास हुन नसकेका कारण व्यास क्षेत्र विकास कोषले यस स्थललाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने सोच अघि बढाएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो ।

व्यास क्षेत्रलाई व्यास ग्रामका रुपमा विकास गर्ने कोषको लक्ष्य रहेको बताउँदै उहाँले यस स्थलमा १०८ फिटको तामाको मूर्तिका साथै पुस्तकालय, वाचनालय, प्रवचनगृह, गुरुकुल आश्रम, धर्मशाला, व्यापारिक स्थलका साथै २७ अवतारका व्यास, श्री गणेश, सत्यवती, पराशर र दाशराज माझीहरूको मूर्ति निर्माण गरिने जानकारी दिनुभयो ।

पर्यटकीय नगरी पोखराबाट जम्मा ५० किमि दुरीमा रहेर पनि ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल व्यास क्षेत्र ओझेलमा परेको बताउने तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरि सिं गुरुङले यसको विकाससँगै यहाँ वरपर रहेका पर्यटकीयस्थल तनहुँसुर, बन्दीपुर, भानु जन्मस्थल (शिखर कटेरी, ऋषिङ रानीपोखरी आदि स्थानमा पर्यटक पुग्ने र यसबाट मादी सेती जलविहार, पदयात्रा, गुफा अवलोकनका साथै यहाँको सांस्कृतिक जगेर्ना र सञ्चालित होमस्टेको विकास हुने बताउनुभयो ।

धार्मिक पर्यटकीय रुपमा महत्वपूर्ण देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोले दवी, तनहुकालिका, अकलादेवी लगायतका धेरै मठ मन्दिर पनि यहाँका अन्य आकर्षण हुन् ।

पर्यटकलाई लक्षित गरी यहाँका पर्यटकीय गाउँमा सञ्चालित १४ वटा घरवास(होम स्टे) कार्यक्रम पनि प्रभावकारी बन्ने उनीहरुको भनाइ छ । तनहुँ जिल्लामा टुटेपानी, मिछुर्लुङ, हिलेखर्क, छिम्केश्वरी, धरम्पानी, नाबरुङ्ग, रानागाउँ, थप्रेक, रघु, छापथोक नमूना गाउँ, तनहुँसुर, दगाम/भुजिकोट, पिपलथोक र रामकोट गाउँहरूमा घरवास(होम स्टे) कार्यक्रम सञ्चालित छन् ।

व्यास क्षेत्रको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड व्यास क्षेत्र विकास कोष एवं सम्बद्ध निकायसँग सहकार्य गर्न तयार रहेको बोर्डको पोखरा कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलियाले बताउनुभयो ।

आवश्यक पूर्वाधार विकास एवम् प्रचारप्रसार हुन सकेमा पोखरा आउने पर्यटकलाई प्याकेजका रुपमा नै व्यास क्षेत्रको अवलोकन भ्रमण गराउन सकिने बताउदै थपलियाले व्यास क्षेत्रको विकासले यहाँको मात्र नभएर यस आपासका कास्की, स्याङजा, वाग्लुङ लगायत यस प्रदेशको पर्यटकीय विकासमा पनि योगदान गर्ने बताउनुभयो ।

व्यास क्षेत्रमा रहेका पराशर आश्रम, सत्यवतीको प्रशव वेदना झल्काउने शिला, सत्यवतीकी आमा मत्स्यगन्धा झल्काउने शिला, राजा उपरीचरले पालेको वाज पंक्षी झल्काउने शिला, कहिल्यै नसुक्ने सत्यवती कुण्ड, व्यास गुफा, मत्स्योदरी कुण्ड जस्ता धेरै ऐतिहासिक स्थलले पनि यहाँको धार्मिक महत्वलाई उजागर गर्ने स्थानीयको भनाइ छ ।

व्यास क्षेत्रमा रहेको १०० रोपनी क्षेत्रफलको जग्गालाई समेटेर मूर्ति सहितका संरचना निर्माण गर्न लागिएको छ । वेदव्यासको तपोभुमी व्यास क्षेत्रलाई समेटेर यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अभियानलाई व्यास नगरपालिका कार्यालयका तर्फबाट सक्दो सहयोग गर्ने नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद वास्तोला बताउनुहुन्छ ।

व्यास गुफा क्षेत्रको विकास गर्न सकेको खण्डमा व्यास स्थलको विकास यहाँको मात्र नभएर समग्र प्रदेश नं ४ कै पर्यटकीय विकासमा उपायोगी बन्ने निश्चित छ ।
-गीता रानामगर

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1