नालापानी युद्ध : दुईसय वर्षअघिको युद्ध इतिहास

nalapani-killa1
राजन पौडेल ।
एउटा संयोग मिलेको थियो, भारत उत्तराखण्डको राजधानी शहर देहरादुन जाने । वल्र्ड गोर्खा फाउन्डेशन ट्रस्टको आयोजनामा हुँदै गरेको ‘गोर्खाली मिलन समारोह एवं नेपाली सांस्कृतिक कार्यक्रम’मा भाग लिने बाहानाले त्यो संयोगलाई मुर्त रुप दियो । एक जमनाको देहरादुनसँग नेपाली राष्ट्रियताको साइनो जोडिएको थियो । वर्तमानको देहरादुन सम्भ्रान्त घरानियाका छोराछोरीको पढाइका लागि मुख्य गन्तव्यस्थल बनेको छ भने गरीब नेपालीका लागि दैनिक ज्यालादारी कामको खोजी गर्ने थलो । यो पाटोलाई छोडेर देहरादुनलाई इतिहास र समाज मनोविज्ञानको कोणबाट नियाल्ने हो भने राष्ट्रियताको भावनात्मक संवेग उछालिएको पाउँछौं हामी सबैले । मेरा लागि भने यो यस्तो संवेग थियो, जसभित्र पुर्खाको वीरता, सौर्य, बलिदान र समर्पणको मिश्रणले कुत्कुताईरहेको थियो । वर्तमानको राजनीतिक पुस्ताले रटान लगाउने राष्ट्रियताको नारावाजी र पुर्खालाई सम्झेर वर्तमानमा भाषणवाजी गर्ने राजनीतिशास्त्रीको आवेगपूर्ण अन्तरघुलन थियो । वर्तमानको नेपाली पुस्ता राष्ट्रियताका बारेमा कत्तिको चनाखो छ, नेपालको विगत र वर्तमानको भूगोलबारे कत्तिको चिन्तित छ, अनि, भौगोलिक सीमाबाहिरको नेपालीपनप्रति कत्तिको उद्देलित छ भन्ने विषयमा सकेसम्मको खोजविन गर्नु अन्यथा हुँदैनथ्यो । देहरादुनको यात्रा जुरिसके पछिको मेरो मनोविज्ञान यिनै विषयमा केन्द्रित थियो ।

देहरादुन उत्तराखण्ड राज्यको राजधानी । उत्तराखण्ड नेपालसँग सीमा जोडिएको भूभाग । अनि, नेपालसँग सामिप्यता राख्ने भौगोलिक क्षेत्र । जसैगरी हिमाली, पहाडी र तराईको भूभागले नेपालको भौगोलिक अस्तित्व कायम छ, त्यसैगरी हिमाली, पहाडी र तराईको उस्तै भूगोलले उत्तराखण्डको बनोट खडा छ । त्यसैले त उत्तराखण्ड निवासी भारतीय नागरिकहरु समेत नेपालसँग घनिष्ट भएको जिकिर गर्छन् ।

देहरादुन भन्ने वित्तिकै नालापानी नसम्झने नेपाली सायदै होलान । देहरादुन भन्ने वित्तिकै खलङ्गा (किल्ला) नसम्झने नेपालीभाषी भारतीय गोरखाली समुदाय कोही छैन होला । नालापानी खलङ्गाको कथा स्कुले जीवनमा सामाजिक शिक्षाअन्तर्गत नेपालको राज्य विस्तारको रोमाञ्चक इतिहास पढ्दा पहिलोपटक थाहा भएको थियो । वीर नेपाली सपुतहरु ब्रिटिश साम्राज्यवाद विरुद्ध ज्यानको पर्वाह नराखी कसरी लडेका थिए ? नालापानीको त्यो रहस्यले झन बढी कौतुलहता जन्माएको थियो । देहरादुन यात्रामा नालापानीको इतिहास र त्यहाँ रहेका लाखौं नेपालीभाषी गोरखालीबारे जिज्ञासा जन्मिुन स्वभाविक पनि थियो ।

इतिहासको स्मरण

nalapani-war-memorial

सन् १८१४ को अक्टोबर ३० र ३१ । नेपाली र अंग्रेज फौजबीच भीषण लडाईं भएको नालापानी खलङ्गा । नालापानी पर्वतीय श्रङ्खलाको उच्च भूबनोट । नेपाली फौजले उच्च रणकौशलताका लागि यो पहाडी भूभाग रोजेको थियो । रणनीतिक रुपमा यो भूभाग यसकारणले पनि महत्वपूर्ण थियो कि एकातिर प्रकृतिले दिएको पहरे बनोट, अर्कोतिर दुश्मनलाई निकै टाढासम्म देख्न सकिने भूगोल । हो नेपाली सेनाको यही युद्ध कौशल रणनीतिका कारण नालापानीमा किल्ला खडा भयो । त्यसो त, सामारिक महत्व राख्ने नेपालका सबै पुराना गढी र कोतहरु पनि यस्तै भौगोलिक फोर्टिफिकेसनमा रहेको पाइन्छ । जसले नेपालको आफ्नै खाले युद्धकला र सामरिक रणनीतिको प्रतिनिधित्व गर्छ । भारतीय र बृटिस सेनाले समेतले यस्तो खाले फोर्टिफिकेशनलाई आज प्रयन्त उदाहरणको रुपमा लिने गर्छन् ।

८/१० पुस्ता अघिको हाम्रा वीर योद्धाहरु, जसको नेतृत्व कप्तान बलभद्र कुँवरले गरेका थिए, ले नालापानीमा अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित अंग्रेज ( इष्ट इन्डिया कम्पनी, बृटिश साम्राज्यवादको एक अंश)सँग वीरतापूर्वक लडेका थिए । अंग्रेजका लागि देहरादुन, श्रीनर, कुमाउ, गढवालमाथि कब्जा जमाउन नालापानीमाथि विजय पाउनु अनिवार्य थियो । अक्टोबर ३० को रातिदेखि अक्टोबर ३१ सम्म अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशलता, सहास, वीरता, सौर्य, पराक्रम साथ भाला, खकुरी, खुँडा, तरवार र भरुवा बन्दुकले प्रतिरोध गर्यो । अंग्रेज विरुद्धको त्यो प्रतिरोध युद्ध विश्वको युद्ध इतिहासमा सबैभन्दा बहादुरीको उत्कृष्ट नमूना रहेको थियो । युद्धमा अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी, केसीबीको मृत्यु भयो । अंग्रेजले ३१ अफिसर्स र ७५० सेनालाई गुमायो भने ३५ अफिसर्स र १५ सय भन्दा बढी अंग्रेज सेना घाइते भए । नेपाली फौजतर्फ पनि करिब ३०० जतिको मृत्यु भएको थियो भने २ सय घाइते भएको अनुमान गरिएको छ । इष्ट इन्डिया कम्पनीले आफ्ना सबैभन्दा सुयोग्य कमाण्डर जिलेस्पीलाई गुमाउँदा मर्माहत भएको थियो । जबकी जिलेस्पीले अन्य सबै युद्धमा विजय प्राप्त गर्दै आएका थिए ।

अंग्रेजले युद्धको नियम उल्लंघन गर्दै एकपक्षीय रुपमा युद्धको घोषणा गरेको थियो, प्रतिक्रियामा बलभद्र कुँवर नेतृत्वको नेपाली फौजले जिलेस्पीको मृत शरीरलाई ससम्मान अंग्रेज फौजलाई हस्तान्तरण गरेको थियो, युद्धको नियमलाई पालना गर्दै । नेपाली फौजको यो महानतालाई अंग्रेज इतिहासकार फ्रिन्सेपले ‘युद्धमा मारिएका दुश्मनको लास लैजान दिएर नेपाली फौजले जुन वीरोचित उदारता देखाएका छन् त्यो अंग्रेजका निम्ति नितान्त नवीन र आश्चर्योत्पादक थियो’ भनेर लेखेका छन् ।

मेजर जनरल जिलेस्पीको मृत्युपछि छटपटाएको अंग्रेजले पुनः नयाँ रणनीतिका साथ नालापानीमाथि आक्रमण गर्यो । जिलेस्पीको मृत्युपछि मर्माहत भएको अंग्रेजले पछिल्लो पटक युद्ध नियमको पालना गरेन अंग्रेजले । जिलेस्पी मारिएको झण्डै एकमहिना पछि नोभेम्बर २७ देखि २९ सम्म पुनः बमबार्डिङ गर्दै नालापानी किल्ला कब्जाको लागि अघि बढेको अंग्रेजले किल्लामा जाने पानीको मुहान पत्ता लगाएर भत्काइदियो । पानी खान नपाएर व्याकुल भए पनि, निरन्तर युद्धमा संलग्न भए पनि नेपाली फौजले फेरि एकपटक वीरतापूर्वक लडाईं लड्यो । नेपाली फौजमा नियमित फौज मात्र नभै महिला, केटाकेटीले समेत अमम्य सहास र वीरता देखाए, जुन वीरता देखेर दुश्मन अंग्रेज सेना समेत छक्क परेको थियो । अन्त्यमा, किल्लाभित्रको कमजोर अवस्था, निरन्तर थकित सेना र घाइते सेनाको छटपटाहटका बीच किल्ला छोड्ने निर्णयमा पुगेको थियो नेपाली फौज । कमाण्डर बलभद्र कुँवरले आफुसँग वचेका झण्डै ७० जना सेनाका साथ अंग्रेज फौजकै अगाडिबाट नाङ्गो खुकुरी नचाउँदै किल्लाबाट बाहिरिएको घटनालाई अंग्रेज स्वयंले मुक्त कण्ठले प्रशंसा गर्न बाध्य भएका थिए ।

यसैले त अंग्रेजले आफ्ना मृत सेनापतिको सम्झनामा स्मारक बनाउँदै गर्दा उनकै दुश्मन नेपाली सेनाका कमाण्डर बलभद्र कुँवरको पनि स्मरण गर्न भने चुकेनन् । संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मारक बनाउँदै थियो । नेपाली फौजको वीरता र सहासका सामू अंग्रेज फौजको मानसिक हार भएको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ । भौतिक रुपमा पराजित भए पनि नेपाली फौजको अदम्य सहास, पराक्रम र सौर्यलाई अंग्रेजहरुले विश्लेषण गरेका कारण उनीहरुले जनरल जिलेस्पीकै हैसियतमा उनीसरह सम्मान दिएर बलभद्र कुँंवरको समेत स्मारक बनाए । र, त्यहाँ उनीहरुले लेखे, ‘किल्लाका कमाण्डर हाम्रा वीर शत्रु बलभद्र र उनका पराक्रमी गोर्खाहरुको सम्मानमा…’
देहरादुनको पूर्वीभूभास्थित सहस्रधारा रोडसँगै जोडिएको एउटा बगैंचाभित्र अहिले पनि ती दुई स्मारक ठडिएका छन् । नालापानी किल्ला नजिकै बनेका यी स्मारकले दुईसय वर्ष अघिको युद्ध इतिहासलाई जीवित राख्न सफल भएका छन् । आज पनि यो स्मारक क्षेत्रलाई भारतीय पुरातत्व विभागले संरक्षित गरेको छ ।

nalapani-killa2

नालापानी किल्ला यसकारणले महत्वपूर्ण छ कि यो किल्लाको नेतृत्व तत्कालिन नेपाली सेनाअन्तर्गत पुरानो गोरख गणले सम्हालेको थियो । यस किल्लाको प्रमुख रक्षक पल्टन ‘पुरानो गोरख गण’ नेपाली सेनाभित्रको मगर पल्टन थियो । संसारलाई हल्लाउन सक्ने गोर्खा जातिको इतिहासभित्र पुरानो गोरख गणको भूमिका महत्वपूर्ण रहेको छ । अंग्रेजले नालापानी किल्लाभित्र गोरख गणका सेनाको अविश्वसनीय लडाईंबाटै प्रभावित भएर नेपाली जातिलाई आफ्नो पक्षमा पार्नका लागि कुटनीतिक चातुर्यता देखाएका थिए । गोर्खाली शब्द यही किल्लाबाट उत्पत्ती भएको कुरा अंग्रेज सेनानायक फ्रेजरले आफ्नो युद्ध डायरीमा लेखेका छन् । यही युद्ध पछि गोर्खा फौजको स्थापना भयो । पहिले नेपाली फौजले अंग्रेजहरुबाट अब गोर्खालीको नाममा नयाँ पहिचान भयो । र, कालान्तारमा गोर्खाको नाममा गोर्खाभर्ती केन्द्रको स्थापना हुनपुग्यो ।

नालापानीको अहिलेको अवस्था ?

नालापानी खलङ्गालाई जोगाउन देहरादुनमा बलभद्र खलङ्गा विकास समिति क्रियाशिल छ । स्थापना भएको धेरै वर्ष भएपनि सुरुमा त भारतीयहरुले नेपालीभाषीलाई हेर्ने दृष्टिदोषका कारण समितिले केही काम गर्न नसकेको देखिन्छ । तर, ९० को दशकमा भारतमा सुरु भएको नेपाली भाषा आन्दोलन पछि र उत्तराखण्ड उत्तरप्रदेशबाट छुट्टै राज्यबनेपछि भने नालापानी खलङ्गा विकासका लागि केही कामका प्रयत्नहरु भएका छन् ।

भारतको वन विभागअन्तर्गत रहेको नालापानी किल्ला धेरै पछि र धेरै प्रयत्नपछि मात्र संस्कृति विभागअन्तर्गत ल्याउन सकिएको अनुभव छ बलभद्र खलङ्गा विकास समितिका अध्यक्ष रामसिंह थापाको । केन्द्रीय सरकारसँग धेरैपटक लविङ गरेपछि संस्कृति विभागमा नालापानी खलङ्गाको स्वामित्व हस्तान्तरण भएको थियो । अहिले यो ठाउँमा युद्ध स्मारक बनाइएको छ । स्मारक र त्यस वरिपरि पर्खाल लगाउने काम मात्र भएको छ, यसको संरक्षण र एकीकृत विकास गर्न भने अझै धेरै बाँकी देखिन्छ ।

पहुँच भएका तिब्बती शरणार्थीहरु नालापानी नजिकै आएर मुकाम खडा गरेर बसेका छन् । नालापानीले चर्चेको वन क्षेत्रमध्ये धेरैजसो भूभागमा त तिब्बती झण्डा फहराएको देखिन्छ । तर, तिनै तिब्बती शरणार्थी क्याम्पकै बाटो हुँदै नालापानी खलङ्गाको मुख्य ठाँउमा पुग्नलाई बल्लतल्ल बाटो पुगेको छ । ‘एक त आवश्यक बजेट हुँदैन, राज्य सरकारले छुट्टाएको बजेट पनि किस्ता किस्ता सानो रकममा मात्र निकासा हुन्छ, त्यसैले संरक्षण र विकासका थप काम गर्न समस्या परेको’, खलङ्गा विकास समिति अध्यक्ष रामसिंह थापा भन्छन् ।

नालापानी पर्वतको टाकुरामा गोर्खाली चिनोको रुपमा बलभद्र खलङ्गा युद्ध स्मारक बनाइएको छ । यही स्मारक बनाउन पनि धेरै नै पापड बेल्नुपरेको अनुभव छ, बलभद्र अध्यक्ष रामसिंह थापा र उनको गोर्खाली टिमसँग । सहस्रधारा रोडस्थित अंग्रेजले बनाएको पुरानो युद्ध स्मारकभन्दा करीब तीन किलोमिटर टाढा युद्धक्षेत्रमै यो नयाँ स्मारक बनको छ । केही तल रहेको सागरतालमा अहिले पनि युद्धको सम्झना गरिन्छ, जहाँ गोर्खाली समुदायले अहिले पनि खलंगा मेला भर्नेगर्छन् ।
तर, सोचेअनुसार काम नहुँदा र कामका लागि आवश्यक सहयोग प्राप्त नहुँदा नेपाली सेनाले बनाएको किल्लाको उत्खनन् भएको छैन । पुरातात्विक महत्वका वस्तुहरुको खोजविन हुन, उत्खनन हुन र युद्ध क्षेत्रको घोषणा हुन बाँकी रहेको बताउँछन्, सिक्किमबाट देहरादुन पुगेर खलङ्गा विकासका लागि पहल गरेका पीएस शेर्पा । दिल्लीस्थित कांग्रेस आईको केन्द्रीय कार्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका शेर्पा भारतीय गोर्खाली समुदाय र विश्वभर छरिएका नेपाली एवं गोर्खालीका लागि नालापानी किल्ला गर्व गर्ने ऐतिहासिक सम्पदा भएको कारण यसको थप संरक्षण गर्नुपर्ने बताउँछन् ।

nalapani-killa

नालापानीका लागि नेपाली पहल

२०० वर्ष अघिको घटना । तर, नालापानीले नेपालीलाईं सधैंभर झक्झकाइरहन्छ । एउटा पराक्रमी युद्धमोर्चाको सम्झना गराइरहन्छ । यसकारणले नालापानी नेपालका लागि छुटाउनै नहुने तीर्थस्थल हो । नालापानी भारतमा बसोबास गर्ने दशौं लाख नेपालीभाषी गोर्खालीका लागि पवित्रस्थल हो, इतिहासको सम्झना गराउने थलो हो ।

बिडम्बनै भन्नुपर्छ नालापानीलाई सम्झिन सकेन, मुलभूमि नेपालले । वीरताको चिनोलाई नेपालले चिन्न सकेन । विशाल नेपालका लागि वीर योद्धाहरुको वलिदानलाई काठमाडौंको केन्द्रीय सत्ताले सम्मान गर्न सकेन । आज नालापानी छिमेकी भारतको एक भौगोलिक अंग भए पनि नालापानीभित्रको नेपाली अपनत्व एवं समाजशास्त्रीय मनोविज्ञानलाई जोगाइराख्न नेपालले भारतसँग आग्रह गर्न समेत सकेन ।

बरु, नालापानी खलङ्गालाई जोगाउन भारतमै बसोबास गर्ने नेपाली भाषि गोरखाली समुदायले केही पहल गरेका छन् । ती गोरखालीहरु जसका पुर्खा त नेपाल राज्य विस्तारका लागि लडेका थिए, ती नेपालीभाषी गोरखालीहरु, जसका पुर्खाले कुनै समय आफ्नै दुश्मन फौज अंग्रेज फौजसँग लडेता पनि कालान्तरमा अंग्रेजका लागि समेत लड्न पुगे र अहिले भारतीय सेनामा समेत माथिल्लो दर्जामा पुग्न सफल भएका छन् । गर्व गर्छन् उनीहरु, नालापानी खलङ्गाप्रति । यो अर्को अनौठो संयोग भएको छ, गोरखाली जातिका लागि, नेपाली रगत मिसएका सन्ततिका लागि ।

‘नेपालका लागि नालापानी खलङ्गा ऐतिहासिक महत्वको ठाउँ हो, तर, खलङ्गा विकासका लागि नेपालबाट कुनै पहल नभएको देख्दा हामी नेपालीभाषी गोरखाली दुखित छौं’, खलङ्गा विकास समितिका अध्यक्ष रामसिंह थापाले गुनासो गरेका छन् । गुनासो गर्ने ठाउँभने प्रशस्तै छन् । नेपालबाट नालापानीलाई इतिहासका पुस्तकमा सम्झेर सामान्यज्ञानको जानकारी दिनेबाहेक अरु कुनै पहलकदमी भएको छैन । विश्वका धेरै देशहरुले त्यस्ता ऐतिहासिक स्थलको संरक्षणका लागि पहल गर्दैआएका छन् । भुगोल आफ्नो देशको नभए पनि सरकारीस्तरमा भएका लविङबाट अर्को देशको भुगोलभित्रका कतिपय ऐतिहासिक स्थानको सम्वद्र्धन र विकास गरिएका उदाहरण बाँकी विश्वका धेरै देशमा पाइन्छ । तर, अंग्रेजसँग सुगौली सन्धीबाट शिर निहुराएको नेपालको शासकवर्गले भारतीय शासकवर्गसँग समेत कहिल्यै शिर ठाडो पारेर कुरा राख्न समेत हैसियत बनाएन । नालापानीमा वैरीका सामु वीर सपुतहरुले शिर झुक्न दिएनन्, तर काठमाडौंले तिनीहरुलाई सम्झन समेत लायक मानेन ।

नालापानीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एकपटक व्यक्तिगत तवरमा घुम्न पुगेका रहेछन् । उनी केही कार्यकर्ताको साथ किल्लामा पुगे, फर्किए । काठमाडौं आएपछि शुन्य । भारतका लागि तत्कालिन राजदूत भेषबहादुर थापा र कार्यबहाक राजदूत खुशनारायण श्रेष्ठ पनि खलङ्गा पुगेका छन् । अरु कोही नेता र सरकारी अधिकारी नालापानी पुगेको कुनै रेकर्ड छैन खलङ्गा विकास समितिसँग । केहि दिन अघि देहरादुन पुगेका वर्तमान कार्यबहाक राजदूत कृष्णप्रसाद ढकालले ‘आफुले नालापानीको विकास, संरक्षण र यसलाई ऐतिहासिक पर्यटकीयस्थल बनाउनका लागि लागि नेपालबाट केही गर्न सक्ने अवस्थाको खोजी गर्ने’ बताएका थिए ।

वल्र्ड गोर्खा फाउन्डेसन ट्रस्टका अध्यक्ष एवं देहरादुन निवासी समिर प्रधानले ‘गोर्खालीको पहिचान दिएको यस ठाउँलाई जोगाउन, युद्धस्मारक बनाउन र एउटा पवित्र स्थलको रुपमा कमसेकम नेपालीभाषी गोरखाली समुदाय र नेपालले पनि गर्व गर्न लायक पर्यटकीयस्थल बनाउन नेपालबाट पहल हुनुपर्ने’ धारणा राख्छन् । प्रधानले अहिलेसम्म यो ऐतिहासिक स्थानको संरक्षण र सम्वद्र्धनबारे नेपालबाट कुनै पहल नभएकोमा आश्चर्यसमेत व्यक्त गरेका छन् ।

पुर्खाले सिंचित गरेका रक्तवीजका कणहरु आजको हाम्रो पुस्ताले नालापानीमाथि न्याय गर्न सकेन । हामी भजन गाउँछौं, ‘नालापानी किल्लामा खुकुरी घुमे फनन’ । हामी अझै पनि नालापानीको व्याज खाइरहेका छौंं, हाम्रो मुलुक हाम्रा ती वीरवीराङ्नाहरुको रगतबाट कोरिएको छ, जसले अंग्रेज साम्राज्यवादविरुद्ध वीरतापूर्वक युद्ध लडेको थियो, तर उनीहरुलाई नसम्झेर उनीहरुप्रति मरणोपरान्त अन्याय गरेका छौं ।

नालापानी युद्धको २०१ औं वर्षगाँठ आउँदैछ । भारतीय गोर्खाली समुदायले त्यो युद्धलाई सम्झिन नालापानी नजिकैको सागरतालमा खलङ्गा मेला भर्दैछन् । सन् १८१४ अक्टोबर ३० को रातिदेखि नोभेम्बर २९ सम्म नालापानीको युद्धमा पुर्खाको वीरता/सौर्य र युद्धको क्रममा पाएको दुःख दुबैले हामीलाई पनि फेरि एकपटक नालापानीलाई सम्झाएको छ । राज्यस्तरबाट नेपालले त्यो महान् युद्धलाई नसम्झे पनि वीर योद्धाहरुको सम्झनामा श्रद्धास्वरुप हाम्रो शिर झुकेको छ ।
यो रिपोर्ट नयाँ पत्रिका दैनिक (२०७१ कात्तिक १३) मा प्रकाशित भएको छ

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

2 Comments for “नालापानी युद्ध : दुईसय वर्षअघिको युद्ध इतिहास”

  1. Ramro jaankari dinu bhayo, dhanyavad……………. Its a matter of pride for the Gorkha Community. They were great and are great…………their honesty, loyality and bravery is emeplery, They r beyond comparison…………. Jai Gorkha……….

  2. भुपेन्द्र बिस्त

    तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने देखिन्छ ।नेता जि हरु कति नेपालाई कति लुत्छौ अब सक्छौ भने नालापानी किल्ला नेपाल फर्काउ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1