धार्मिक पर्यटकीय गन्तव्य : मौलाकालिका मन्दिर

डा. मतिप्रसाद ढकाल ।  नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । त्यसैले धार्मिक पर्यटनको विकासमा नेपालका मन्दिरहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । पश्चिमाञ्चल क्षेत्रका मनोकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, भैरवस्थान आदि विविध मन्दिरहरूमध्ये मौलाकालिका मन्दिर पनि एउटा प्रसिद्ध मन्दिर मानिन्छ । विभिन्न ऋषिमुनिहरूको तपोभूमिका रूपमा सुपरिचित देवघाटक्षेत्र परिसरभित्र नवलपरासी जिल्लाअन्तर्गत गैंडाकोट नगरपालिकाको वडा नं. १ पनि पर्दछ । यसै क्षेत्रमा पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा समुद्र सतहदेखि ५६१ मिटर उचाइमा पहाडी वनको बीचमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिपीठका रूपमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

मौलाकालिका मन्दिरको परिचय

मौलाकालिका मन्दिरको परिचय प्राप्त गर्नका लागि यसको ऐतिहासिक पृष्ठभूमि, धार्मिक सेवा समितिको संस्थागत विकास, मन्दिरमा पूजा सञ्चालनको व्यवस्था, यसको भौतिक संरचना, सामान्यदेखि विशिष्ट व्यक्तित्वको आगमन र धार्मिक पर्यटन विकासको सम्भावनाका बारेमा परिचर्चा हुनु सान्दर्भिक देखिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

विक्रम संवत् पन्ध्रौं शताब्दीको अन्त्यतिर पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकुडी राखेका थिए र सैनिक टुकुडीलाई शक्ति आराधनाका लागि मौलो गाडेर शक्तिपीठका रूपमा पूजाअर्चना गर्ने व्यवस्था गरेका थिए । उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले शक्तिपीठको पूजा गर्ने परम्परालाई निरन्तरता दिएका थिए भन्ने किंवदन्ती पाइन्छ । त्यसपछि स्थानीय गाउँलेहरू आफैले आलोपालो गरेर पूजा गर्ने व्यवस्था मिलाएका थिए । शक्तिपीठको नजिकै एउटा ठूलो रूख थियो, जुन रूख १९९० सालको भुइँचालोमा ढलेको थियो । रूख ढलेसँगै शक्तिपीठका ऐतिहासिक संरचनाहरू पनि भताभुङ्ग भएका थिए । कालान्तरमा गाउँका आदिवासी बासिन्दाहरू अन्यत्र बसाइ सर्न थालेका कारण पूजा गर्ने चलन पनि करिब करिब लोप हुन थालेको थियो । २०३२ सालमा गैंडाकोट–१ निवासी काशीनाथ पौडेलले सपनामा मौलाकालिकाको दर्शन पाएछन् । त्यसपछि तत्काल काशीनाथ पौडेल र ह. कमानसिंह गुरुङ दुवै मिलेर उक्त ठाउँमा खनीखोस्री गर्दा धमिराले खाएको काठको मौलो, गोलाकारका शिला र घन्टीहरू फेला पारेछन् । त्यसपछि सोही स्थलमा स्थानीय बासिन्दाहरूले सानो मन्दिर निर्माण गरी बडादशैंमा र चैतेदशैंमा मात्र पूजापाठ गर्दै आएको ऐतिहासिक तथ्य पाइन्छ ।


धार्मिक सेवा समितिको संस्थागत विकास

२०३७ सालको श्रीकृष्ण जन्माष्टमीका दिन श्रीकृष्णको पूजाअर्चना र अखण्ड हरिकीर्तन सम्पन्न गरेपछि त्यतिबेला उपस्थित भेलाले मौलाकालिका मन्दिरको संस्थागत विकासका लागि एउटा कार्य समिति बनाउने सोच बनायो । तदनुसार २०३८ आश्विन २५ गते बडादशैंका अवसरमा गैंडाकोट वडा नं. १ र २ को जनभेलाले डिलाराम कँडेलको अध्यक्षतामा १५ सदस्यीय धार्मिक सेवा समितिको गठन ग¥यो । त्यसपछि हालसम्म विभिन्न समयमा निर्वाचित समितिहरूले मन्दिरको संरक्षण र विकासमा सक्रिय योगदान दिँदै आएका छन् । हालसम्म नवलपरासी, चितवन, पर्सा, धादिङ, गोर्खा, काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, तनहुँ, अर्घाखाँची र बैतडी जिल्लाका ७७३ जना व्यक्तिले यस समितिको आजीवन सदस्यता प्राप्त गरिसकेका छन् ।

मन्दिरमा पूजा सञ्चालनको व्यवस्था

स्थापनाकालमा सैनिकहरूले र त्यसपछि मगरहरूले मन्दिरमा पूजाअर्चना गर्दै आए पनि २०३२ सालदेखि मन्दिरमा ब्राह्मणद्वारा पूजा हुन थालेको हो । २०३८ को बडादशैंदेखि समितिले संस्थागत रूपमा पूजा गर्न प्रारम्भ गरेको हो । २०४३ वैशाखदेखि हप्ताको दुईदिन मंगलबार र शनिबार पूजा गर्न थालिएको थियो भने २०४४ साल चैत्र ६ गतेदेखि एकजना आवासीय पुजारीद्वारा दैनिक रूपमा पूजापाठ गर्न थालिएको हो । २०६४ सादेखि हालसम्म यस मन्दिरमा तीनजना आवासीय ब्राह्मण पुजारीबाट वैदिक विधिअनुसार दैनिक पूजाअर्चना, हवन र पाठपारायण हुँदै आएको छ । सुरु सुरुमा यस मन्दिरमा बलिप्रथा कायम रहे पनि पछि आएर क्रमशः त्यस प्रथाको अन्त्य हुँदै गएको छ ।

मौलाकालिका मन्दिरको भौतिक संरचना

२०३२ सालमा बनेको सानो कच्ची मन्दिर वर्षाका कारणले भत्किन पुग्यो । २०४२ सालमा पुनः एउटा ढोका भएको र टिनले छाएको सानो पक्की मन्दिर निर्माण गरियो । मौलाकालिका मन्दिरको दिनप्रतिदिन सर्वत्र महत्त्व र ख्याति विस्तार हुँदै गएपछि मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनहरूको भीड बढ्दै गयो । तत्कालीन प्रहरी उपरीक्षक ज्ञानेन्द्रविक्रम महतको प्रेरणाले धार्मिक सेवा समितिको सक्रियतामा श्रद्धालु जनता, विभिन्न सङ्घसंस्था र उद्योगव्यवसायीहरूको आर्थिक सहयोग तथा मध्यक्षेत्र प्रहरी तालिम केन्द्र परिवार र पशुपतिप्रसाद गण भरतपुर ब्यारेकको आर्थिक र शारीरिक श्रमसहयोगबाट दक्षिण, पश्चिम र उत्तरतिर फर्केका तीन ढोका र तीन तला भएको प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण भई २०५३ चैत्रमा ज्ञानेन्द्र विक्रम महतबाटै समुद्घाटन भएको थियो । मौलाकालिका मन्दिरको प्रवेशद्वार नजिकै रहेका सिद्धि गणेशको मन्दिर एवं राधाकृष्णको मन्दिर, देउराली भन्ज्याङ सिँढीमार्गमा अवस्थित देउराली देवीको खुला मन्दिर, मौलाकालिका मन्दिरको प्राङ्गणमा रहेको हवन कुण्ड, भैरव देवीको मन्दिर, ॐ नमः शिवाय मठ, शिवलिङ्ग मठ, तुलसी देवीको मठ, मन्दिरको प्राङ्गणमा अवस्थित मूल प्रवेशद्वारमा राखिएका गणेश र सरस्वतीका मूर्तिहरूले यस मन्दिरको शोभा बढाएका छन् । मूल राजमार्गदेखि मौलाकालिका फेदी प्रवेशद्वारसम्मको सडक कालोपत्रे भइसकेको छ । त्यसदेखि मन्दिरसम्म सिँढीमार्ग निर्माण गरिएको छ । बाटामा ठाउँ ठाउँमा खानेपानीका धारा, चौतारी र विश्रामगृहहरू पनि निर्माण गरिएका छन् ।

सामान्य भक्तजनदेखि विशिष्ट व्यक्तित्वसम्मको आगमन

मौलाकालिका भगवती माताको पूजाअर्चना, आराधना र उपासना गर्नाले मनले चिताएको पुग्ने जनविश्वासका कारण समय समयमा नेपाल, भारत र भुटान देशबाट सामान्य भक्तजनदेखि विशिष्ट व्यक्तिहरू यस मन्दिरको दर्शन गर्न उन्मुख हुँदै गएका छन् । हरिहर सन्न्यास आश्रम देवघाटका पीठाशीध श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रधान संरक्षकत्व प्राप्त गरेको यस मन्दिरमा २०६४ असोज १० मा योगर्षि स्वामी रामदेव महाराजज्यू र आयुर्वेद शिरोमणि बालकृष्ण महाराजज्यू, २०६७ कार्तिक २७ मा पाँचौं औतारी लामा गुरु डोल्पोबुद्धज्यू, २०६७ मंसिर १४ मा लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा.रामवरण यादवज्यू, २०७० आश्विन २६ मा नेपाल सरकार मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मीज्यू, २०७३ वैशाख २१ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, २०७३ मंसिर ११ मा पुनः योगर्षि स्वामी रामदेव महाराजज्यू र आयुर्वेद शिरोमणि बालकृष्ण महाराजज्यू आदि विशिष्ट व्यक्तिहरू मौलाकालिका भगवती माताको दर्शन गर्न पाल्नुभएकाले पनि यस मन्दिरको महत्त्व अझ बढ्दै गएको देखिन्छ ।

धार्मिक पर्यटन विकासको सम्भावना

नेपाल सरकारले पर्यटन वर्ष सन् २०११ मा मौलाकालिका मन्दिर तथा यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा सूचीकृत गरेको छ । पर्यटन वर्षको पूर्वसन्ध्यामा तत्कालीन माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदसिंह भण्डारीबाट मौलाकालिका पर्यटन महोत्सवको समुद्घाटन गरिएको थियो । नेपाल सरकारले मन्दिर वरिपरिको १९.२ हेक्टर वनजङ्गल धार्मिक वनका रूपमा कार्ययोजना हस्तान्तरण गरी पर्यटन विकासमा सहयोग पुर्याएको छ । भोजनालय र १५० जनासमम वास बस्न मिल्ने आवासीय भवनहरूको निर्माणले धार्मिक पर्यटकहरूलाई सहज भएको छ । २०७४ सालको अन्तसम्ममा यस मन्दिरमा केबलकारको निर्माण गरिसक्ने लक्ष्य यस मन्दिर व्यवस्थापन समितिले राखेका कारण त्यसपछि आन्तरिक र बाह्य पर्यटकहरूसमेत यस मन्दिरको दर्शन गर्न आउने भएकाले मौलाकालिका मन्दिरमा धार्मिक पर्यटन विकासको सम्भावना बढ्दै गएको छ । यस मन्दिरबाट उत्तरतिर देखिने हिमालको सुन्दर दृश्य अनि दक्षिणतिर देखिने चितवन, नवलपुर र नारायणीको रमाइलो दृश्यले पर्यटकलाई लोभ्याउँदै आएको छ ।

उपसंहार

करिब पाँच सय वर्षको इतिहास बोकेको यस मौलाकालिका मन्दिरमा विशेषतः प्रत्येक शनिबारका दिन दर्शनार्थीहरूको बढ्ता भीड लाग्ने गर्दछ भने विजयादशमी र चेतेदशैंका बेलामा नौ दिन नै भक्तजनहरूको घुइँचो लाग्दछ । नारायणगढबाट मौलाकालिका मन्दिरको फेदी प्रवेशद्वारसम्मको सडक कालोपत्रे गरिएकाले यातायातको पर्याप्त सुविधा छ । फेदीको प्रवेशद्वारदेखि डाँडामा अवस्थित मौलाकालिका मन्दिरसम्म जानका लागि ढुङ्गाले चिनिएका १८८२ वटा सिँढीहरूको फराकिलो बाटो छ । फेदीबाट सिँढीमार्गको यात्रा गर्न सामान्यतया आधा घन्टादेखि पौने घन्टासम्मको समय लाग्दछ । मन्दिर पुगेर भगवती माताको दर्शन गरेपछि भने उकालो यात्राको थकानको अनुभूति पनि हुँदैन । मन्दिर परिसरबाट चारैतिर देखिने सुन्दरतम दृश्यले जोकोही दर्शनार्थीलाई पनि बारम्बार मन्दिरको दर्शन गर्न जाऊँ जाऊँ झैं लाग्ने बनाउँछ । यस मौलाकालिका मन्दिरले दर्शनार्थीहरूको मनोकामनामात्र पूरा गरेको छैन, स्थानीय बासिन्दाहरूको जीविकोपार्जनका लागि लघु व्यवसाय गर्ने अवसर पनि प्रदान गरिरहेको छ । स्थानीय जनचासो र प्रहरी श्रमदानजस्तै नेपाल सरकारबाट पनि यस मन्दिरको संरक्षण र विकासका लागि समय समयमा पर्याप्त सहयोग हुन सकेका खण्डमा मौलाकालिका मन्दिर स्वदेशमा मात्र होइन विश्वमा समेत प्रख्यात हुनेछ र धार्मिक पर्यटकीय आकर्षक गन्तव्य पनि बन्नसक्ने सम्भावना देखिन्छ ।

(२०७३ फागुन ८, गैंडाकोट–१, विकासचोक, नवलपरासी)

 

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1