दाङको मनोरम देवीकोट ओझेलमा


धनिराम शर्मा, दाङ । प्रकृति, संस्कृति र धार्मिक हिसाबले मनोरम दाङको देवीकोट सुन्दरताको खानी नै हो । पर्यटनको प्रवल संभावना बोकेर पूर्वाधार र प्रवद्र्धनात्मक कार्यको व्यग्र प्रतिक्षामा रहेको देवीकोटको विकासमा जिम्मेवारहरुको ध्यान नपुग्दा सुनशान जस्तै बनेको छ । प्राकृतिक सांस्कृतिक र धार्मिक गन्तव्यको केन्द्र भएर पनि विकासको प्रभावले छुन नसक्दा देवीकोट सुन्दर डाँडामा बिरानो जस्तै बनेको छ ।

देउखुरी उपत्यकाको शिरानमा अवस्थित देवीकोट प्राकृतिक, सांस्कृतिक तथा धार्मिक हिसाबले निकै मनोरम छ । देउखुरी उपत्यकाको भरपूर अवलोकन गर्न सकिने मनोरम देवीकोट आवश्यक पूर्वाधारको क्षेत्रमा काम हुन नसक्दा अझै ओझेलमा परको छ । पुरातत्व विभागको अभिलेख अनुसार दाङका पुरातात्विक क्षेत्र मध्ये एक नम्वर पर्ने देवीकोट धार्मिक आस्थाको केन्द्र हो । प्रत्येक शनिबारका साथै चैते दशै र बडा दशैमा विशेष पुजापाठ हुने देवीकोटमा वर्षेनी हजारौ भक्तालुहरु पुग्ने गर्दछन्, स्वस्थानी व्रत कथाअनुसार सतीदेवीको बाँया खुट्टा पतन भएको धार्मिक विश्वास रहेको देवीकोटमा मनोकांक्षा पुरा गर्न दर्शनार्थी पुग्ने गरेको स्थानीय रेखा थापा बताउनुहुन्छ ।

साविकको हाँसीपुर गाविस वडा नम्बर २ र हालको राप्ती गाँउपालिका ९ मा अवस्थित देवीकोटमा छिमेकी जिल्लासंगै बाँके काठमाडौंबाट र भारतीय पर्यटकहरु पनि दर्शन गर्न पुगेको तथ्याङ्क छ । भद्राक्षादेवीको नामले पुकारिने देवीकोट शक्तिपीठको रुपमा विश्वास गरिन्छ । देउखुरी उपत्यकाको मौरीघाटबाट ८ किलोमिटर उत्तरतर्फको सडकदुरी पार गरे पुग्न सकिने देवीकोट क्षेत्रको आवश्यक पूर्वाधारका कामहरु हुन सकेका छैनन् । देवीकोट पुग्न अत्यन्तै जोखिमयूक्त कच्ची ट्रयाक खुृलेको सडक छ । गणतन्त्र घोषणाको दिनै पारेर सडक ट्रयाक खोलिएकोले सडकको नाँउ समेत गणतन्त्र सडक राखिएको छ ।

धार्मिक सांंस्कृतिक प्राकृतिक मनोरम देवीकोटको दक्षिणतिर मनोरम देउखुरी उपत्यका र उत्तरतर्फ धवलागिरी सिस्ने हिमालको अवलोकन गर्न सकिन्छ । चुरे पहाडको माथिल्लो खण्डमा अवस्थित देवीकोटको डाँडोमा अवस्थित मगर समुदायहरुको बस्ती, घना वनजंगल जडीबुटी वन्य जन्तु इत्यादिको क्षेत्र भएकोले पनि दाङको पर्यटकीय गन्तव्य बन्न सक्ने सम्बद्धहरुको बताउँछन् । धार्मिक पर्यटनका अभियान्ता विष्णुराम आचार्यका अनुसार राज्यको नीति तथा योजना पर्नसके दाङको पर्यटकीय गन्तव्यहरु मध्ये अब्बल बन्न सक्छ ।

दश विगाह क्षेत्रफलमा फैलिएको देवीकोटकोमा पर्यटन विकास गर्न हालसम्म पर्यटन मन्त्रालयले गत आर्थिक वर्षमा एक लाख, शहरी विकास मन्त्रालयले गत आवमा एक लाख र यसवर्ष शौचालय पानी व्यवस्थापन भन्दै दुइ लाख रुपैया अनुदान दिएका छन् । सरकारी अनुदान बाहेक मन्दिर क्षेत्रसँग अन्य स्रोतहरु छैनन् । ऐतिहासिक धार्मिक महत्वको गरिमा भएको देवीकोट धेरै संभावना भए पनि आवश्यक पूर्वाधार निर्माण तथा प्रवद्र्धनात्मक कार्य हुन सकेको छैन ।

एकातिर सरकारी ध्यान कम पुगेको छ भने अर्काेतिर वृहत पर्यटन विकासको गुरुयोजनाको अभावमा देवीकोटको दीगो विकास गर्न नसकिएको स्थानीयहरुले बताएका छन् । उत्तरतर्फको अथाह वन क्षेत्र, डाँडाभरी छरिएका बस्ती, चिसो र मनोरम हावापानी, ऐतिहासिक किल्लाहरुको क्षेत्र, मगर संस्कृति र जीवनशैलीको बीचमा अवस्थित हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र देवीकोटलाई विकास गर्न वृहत पर्यटन विकासको गुरुयोजना निर्माण गरी लगानी गर्न आवश्यक भएको स्थानीयबासिन्दाको माग छ । आवश्यक पूर्वाधार र प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्दा देवीकोट समस्यामा परेकोले सरकारले यस्ता विषयमा ध्यान दिन देवीकोट धार्मिक पर्यटन प्रतिष्ठानका अध्यक्ष दोर्ण पाण्डे बताउनुहुन्छ ।

स्थानीयको पहुँच नहुनु र सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुले देवीकोट पर्दाभित्रै हराइरहेको छ । देवीकोट पुग्ने गतिलो सडक, पानी, विद्युतीकरण कार्यक्रम संचालन गर्नु, गतिलो गाडी पार्क, पार्क तथा उद्यानहरुको निर्माण, गाँउ गाँउमा होमस्टे संचालन, स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सकेमा देवीकोटको प्रवल संभावना छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1