चन्द्रागिरीको नाभीमा रहेको सौन्दर्य बास्ना

नेपाल प्राकृतिक सम्पदाको अपार धनी देश । प्रकृतिबाट मनोरञ्जन लिनका लागि जता हे-यो उतै अथाह संम्भावना नै सम्भावना । यस्तै हजारौ संम्भावना रहेका क्षेत्रहरु मध्ये काठमाडौको चन्द्रागिरी नगरपालिकामा रहेको चर्चित पर्यटकीय गन्तव्य हो चन्द्रागिरी । र, यहीँ चन्द्रागिरी डाँडो राजधानी काठमाडौंको नयाँ उत्कृष्ट गन्तव्य बनेको छ अहिले । जो कसैका लागि पनि नपुगि नहुने गन्तव्य बनेको छ चन्द्रगिरी । साँच्चि नै यो डाँडामा पुग्दा जो केहीलाई पनि अर्काे दुनियाँमा पुगेको छु भन्ने आभाष हुन्छ । सायद, स्वर्गको परिकल्पना यस्तै गन्तव्यका लागि गरिन्छ होला ।

उ बेला, पृथ्वीनारायण शाहले काठमाडौं एकीकरण गर्ने बेलामा चन्द्रागिरीको सामरिक महत्व देखे । प्रगतिवादी कवि कृष्ण सेन ‘इच्छुक’ले केन्द्रीय कारागारभित्रै बसेर चन्द्रागिरीको महत्व बुझे । तर, आफ्नै नाभीमा रहेको काठमाडौंले चन्द्रागिरीलाई बुझ्न कैयौं कैयौं वर्ष लाग्यो । राज्यले चन्द्रागिरीको महत्व बुझ्न सकेन । कसैले नदेखेको यो चन्द्रागिरीलाई चन्द्रागिरी हिल्स लिमिटेडले देख्यो । निजी क्षेत्रले यो ऐतिहासिक डाँडोको महत्व बुझ्यो । र, त, चन्द्रागिरी छोटो समयमै यौटा फगत डाँडोबाट मनोरम गन्तव्य बन्यो । काठमाडौंमा मुख्य पर्यटकीय गन्तव्यको अभाव चुलिँदै गएको समयमा चन्द्रागिरीले सुखद आगमन गराएको छ ।

चन्द्रागिरी डाँडामा पुग्न आजकल धेरै मानिस लोभिन्छन् । सामाजिक सञ्जालमा त एकपटक ट्रेन्ड नै बन्यो, ‘चन्द्रागिरी नपुग्ने व्यक्तिहरु सोसाइटीमा पनि नपर्ने भए भनेर ।’ सकारात्मक रुपमा बुझिदिने हो भने चन्द्रागिरीको महत्व चन्द्रागिरी हिल्सले बढाइदियो । र, चन्द्रागिरीले बिदा मनाउने अनिवार्य गन्तव्यमा नाम लेखायो ।

चन्द्रागिरी डाडाबाट काठमाडौं उपत्यकामा रहेका चार डाँडाहरुको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । प्रकृति खुलेको बेलामा महालंगुर, अन्नपू्र्ण हिमश्रृंखला, मनास्लु, लाङटाङ, लाक्पादोर्जे, गणेश हिमाल हुँदै सगरमाथासम्म हिमश्रृङखलाको मनोरम दृश्यले लठ्ठै पारिदिन्छ ।

चन्द्रागिरी प्राकृतिक रुपमा अथाह सौन्दर्य बोकेको त छँदै छ, धार्मिक र सामरिक महत्वको पनि डाँडा हो । हिन्दुहरुको आस्थाको केन्द्र भालेश्वर महादेव यहीँ विराजमान भएका छन् । भगवान महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको  किम्वदन्तीले चन्द्रागिरीलाई धार्मिक रुपमा चम्काएको छ । भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्णहुने जनविश्वास रही आएको छ ।

नेपाल एकीकरणका नायक पृथ्वीनाराण शाहले चन्द्रागिरीको यात्रा गरेका छन् । नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले आफ्नो ससुराली मकवानपुरबाट गोरखा फर्कंदा चन्द्रागिरी हु“दै फर्किएको र त्यसपछि काठमाडौं राज्यको राजा हुने इच्छा जागेपछि नेपाल एकीकरणको अभियान थालेको इतिहासमा पढ्न पाइन्छ । यस्तै, पृथ्वीनारायण शाहले चन्द्रागिरीमै बसेर आध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरी विजय प्राप्त गर्ने विश्वास प्राप्त गरेको विश्वास रहिआएको छ ।

घना जङ्गलले ढाकिएको चन्द्रागिरीको वातावरण मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको वातावरण एकै छिनमा चिसो हुस्सु लाग्ने र एकै छिनमा घाम लाग्ने परिवर्तित छ ।  परिवर्तित भैरहने मौसमले यहा“ घुम्न जाने जो केहीलाई लोभ्याउने गरेको छ । पर्यटकहरुले मनोबैज्ञानिक रुपमा पनि आफु आनन्दित भएको महशुस गर्ने गरेका छन् । राजधानीको अत्याधिक प्रदुषण र कोलाहलपूर्ण वातावरणबाट आजित भएकाहरु चन्द्रागिरी पुगेपछि छुट्टै आनन्दको महसुश गर्दछन् ।

काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रागिरी दुई हजार पाँच सय ५१ मिटर उचाइमा रहेको छ । यस्तो स्थानमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन अहिले चन्द्रागिरी हिल्सले केवलकार संचालन गरेको छ ।

राजधानीको थानकोटबाट चन्द्रागिरीमा पुग्न चन्द्रागिरी हिल्सको वेस स्टेशन हुँदै केवलकारमार्फत मात्र १२/१४ मिनेट लाग्छ । सडकमार्गबाट ४५ मिनेटमा ६० रुपैयामा पुग्न सकिने चन्दागीरीमा केवलकार मार्फतजांँदा ७०० रुपैया तिर्नुपर्छ ।

चन्द्रागिरी हिल्स लिमिटेडले निर्माण गरेको थानकोट–चन्द्रागिरी केवलकार संचालनमा आएपछि चन्द्रागिरी डाँडाको कायापल्ट भएको छ । चन्द्रागिरीमा पुग्न अब मात्र १४ मिनेटको समय काफी भएको छ । काठमाडौंको थानकोट चेकपोष्टबाट केहि मिनेटमै पुग्न सकिन्छ चन्द्रागिरी केवलकारको वेस स्टेसन । जहा“बाट सुरु हुन्छ, प्राकृतिक मनोरञ्जनका दृश्यापान । केवलकारबाट चन्द्रागिरी पुगेर आउन सर्वधारणका लागि ७ सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने विद्यार्थी, अपाङ्ग र स्थानीय बासिन्दालाई विशेष छुटको व्यवस्था गरिएको छ । समयसमयमा चन्द्रागिरी हिल्सले केवलकारको शुल्कमा छुट पनि दिने गरेको छ । थानकोटको वेस स्टेसनबाट राजधानीको मानव वस्तीको रमाइलो हेर्दै केवलकारबाट जंगलै जंगल माथि चढ्दा समय बितेको पत्तै हुंदैन ।

चन्द्रागिरी डाँडामा पुग्नेहरु आफनो सपनाको सुन्दर संसारमा आएको महसुस गर्छन् । दृश्य अवलोकन गर्दा साँच्चै हामी प्राकृतिक रुपमा धनी रहेछौ भन्ने गर्व महशुस गर्दै आफैमा आनन्दभाव सिर्जना हुन्छ । यहाँबाट कहिले हुस्सुले छोपिएको, कहिले सफा डाँडाकाँडा र काठमाडौं उपत्यकाको दृश्य हेर्दा लाग्छ, ‘हामी त साँच्नै नै भाग्यमानी छौं । प्रकृतिले हामीलाई सबै दिएको छ, केवल प्रयोग गर्न मात्र नजानेका पो रहेछौं ।’

यति सुन्दर स्थानको निर्माण केवल निजी क्षेत्रबाट मात्र सम्भव थियो । निजी क्षेत्रले गरेर देखाइदियो । पर्यटन विकासका लागि देशभित्र हजारौं चन्द्रागिरीहरु छन् । त्यसको सही सदुपयोग गर्न सकियो भने मात्रै हामी पर्यटनमा धनी हुन सक्छौं ।

चन्द्रागिरीमाथि पुगेपछि भोलेश्वर महादेवको दर्शन, काठमाडौं उपत्यका र मकवानपुरको चित्लाङ लगायतका क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । बालबालिकाको मनोरञ्जनका लागि बालउद्यान बनाइएको छ । रेष्टुरेन्टमा विभिन्न परिकारका खाना र खाजाको आनन्द दिन सकिन्छ ।

भ्यू टावर, जिप फ्लायर, रिसोर्ट, फर्न पार्क निर्माणको अन्तिम चरणमा पुगेका छन् । रिसोर्टमा एक सय बेडको सुविधासम्पन्न कोठा बन्ने क्रममा रहेका छन् ।

स्वदेशी र विदेशी पर्यटनको लागि आकर्षक गन्तव्य बनाउने योजना सहित निमार्ण गरिएको चन्द्रागिरी हिल भोलिको दिनमा झन बढी आर्कषक गन्तव्य बन्ने निश्चित छ । दुईहजार ५ सय ५१ मिटरको उचाईमा पुग्ने जो कोही पनि चन्द्रागिरीको पर्यटकीय विकासबाट खुशी भएरै फर्किन्छन् ।

चन्द्रागिरी हिल्सले सरकारी स्वामित्वको जमिनलाई भाडामा लिएर ऐतिहासिक तथा धार्मिक स्थलको प्रवद्र्धन गरिरहेको छ । भौतिक विकासको साथसाथमा प्राकृतिक सम्पदा जोगाउने जिम्मेवारी पनि चन्द्रागिरी हिल्सकै जिम्मामा रहेको छ । किनकी, देशमा पर्यटन विकासको लागि चन्द्रगिरी केवुलकार सञ्चालनले सहयोग पु-याउनु छ ।

हामी हाम्रो स्वतःप्राप्त प्राकृतिक सम्पदालाई व्यवस्थित गर्दै पर्यटक प्रवद्र्धन गर्न सकेमात्र आफु पनि सम्पन्न बन्न सक्छौं र राज्यलाई पनि सम्पन्न बनाउन सक्छौं । कुरा ठूला गर्ने कामको सिन्को नभाँच्ने प्रवृत्तिको सिकार बनिरहेको अथाह संभावनाको देश नेपालको विकास गर्न सबैभन्दा पहिले अर्काले गरेको  देखिनसहने मानसिकता परिवर्तन गर्नुपर्छ । अन्यथा भिल्लाको देशमा मणीको खोजी भैरहने नै छ । चन्द्रागिरीले त यही सन्देश दिएको छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1