घुम्न जाउँ खोटाङ

halesi-khotang
दीपेन्द्र राई । आन्तरिक तथा बाह्य पर्यटक कहिलेदेखि खोटाङ आउन थाले तोकेरै भन्न सकिँदैन । किराती राजा साङ्खहाङले कलिगत २२४७ मा र अर्का किराती राजा येकेनहाङका जेठा छोरा लेमिङहाङले कलिगत २२९५ मा खोटाङको हलेसी महादेवको दर्शन गरेका थिए । बौद्ध धर्मका प्रसिद्ध भिक्षु पद्मसम्भवले सातौँ शताब्दीमा हलेसीमै तपस्या गरेको बौद्ध धर्मसम्बन्धी प्राचीन ग्रन्थहरूमा उल्लेख छ । यिनै आधारमा भन्न सकिन्छ– निकै पहिलेदेखि नै कुनै न कुनै शीर्षकमा कोही न कोही खोटाङ आइपुगेका रहेछन् ।
अहिले खोटाङ आउने आन्तरिक तथा बाह्य पर्यटक बाक्लिँदै गएका छन् । प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको संगमस्थल मानिएकाले नै आन्तरिक तथा बाह्य पर्यटक खोटाङ आउन लोभिन्छन् । पूर्वका पशुपतिनाथको जिल्ला भनेर नाम चलेको खोटाङमा हलेसी महादेवस्थानका अलावा थुप्रै ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेका पर्यटकीय स्थल छन् । खोटाङ आइपुगेका पर्यटकलाई ग्रामीण पदयात्रा गराउन प्रेरित गर्दै यहाँ रहेका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको गाउँ–ठाउँ घुमाउन सके खोटाङमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
खोटाङ आइपुगेका जोकोहीलाई दुर्छिमको किनामा, नुनथलाको चिया, हलेसीको बदाम, लामिडाँडा, खार्पा, रतन्छा, राजापानी, मात्तिम र याम्खाको सुन्तला अनि छितापोखरी, खिदिमा र ऐंसेलुखर्कको आलुु र गुन्द्रुकको अचारको स्वाद चखाउँदै, विशुद्ध गाउँले खाना र खाजामा पल्काउँदै आन्तरिक तथा बाह्य पर्यटक खोटाङसम्म बोलाउन मेला, महोत्सव नै आयोजना गरिरहन पर्दैन । जिल्लामा रहेको लामिडाँडा, मनमाया राई र थामखर्क विमानस्थलले खोटाङ आउन चाहने पर्यटकको यात्रा सहज बनाइदिएको छ । तपाईं गाडीबाट खोटाङ आउँदै हुनुहुन्छ भने काठमाडौंबाट सिन्धुली हुँदै र उदयपुरको कटारीबाट ओखलढुंंगा हुँदै सीधै खोटाङ आउन सक्नुहन्छ । उदयपुरकै गाईघाट र सुनसरीको धरान, धनकुटा र भोजपुरको चखेवाभन्ज्याङ हुँदै पनि खोटाङ आइपुग्न सकिन्छ । खोटाङ आइपुगेकाले हलेसीदेखि रावाखोला हुँदै सगरमाथा आधारशिविरसम्म पदयात्रा गर्न सक्छन् ।

हलेसी : किरात, बौद्ध र हिन्दू धर्मावलम्बीले विशेष ठाउँका रूपमा लिने गर्छन्– हलेसी महादेवस्थानलाई । हिन्दू धर्मावलम्बीले यो ठाउँलाई पूर्वको पशुपतिनाथसँग तुलना गर्ने गर्छन् भने किरात राई जातिको आदिम सभ्यता हलेसीसँग जोडिएको छ । त्यसो त बौद्ध भिक्षु पद्मसम्भवले सातौँ शताब्दीमा यही ठाउँमा तपस्या गरेकाले बौद्ध धर्मावलम्बीले हलेसीलाई पवित्र तपोभूमि मान्दै आएका छन् ।
किराती राजा होलेसुङले सिकार खेल्दै जाँदा यो गुफा पत्ता लगाएकाले उनकै नामबाट गुफाको नामकरण गरिएको हो । होलसुङ अपभ्रंश हुँदै सरल भाषामा उच्चारण गर्दै जाँदा हलेसी भन्न थालिएको बताइन्छ । धार्मिक दृष्टिकोणले लुम्बिनी र पशुपतिनाथजत्तिकै प्रसिद्ध मानिने हलेसी सात/आठ सय वर्ष अघिदेखि अस्तित्वमा रहेको पुरातत्त्व विभागको सर्वेक्षणमा उल्लेख छ ।
तीन धर्मावलम्बीको पवित्र स्थलका रूपमा चिनिएको हलेसीले अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि पाएको छ । हलेसी महादेवको दर्शन गरे सन्तान नहुनेलाई सन्तान दिने, दुष्टको संहार गर्ने, खडेरीमा पानी दिने, रोगीको रोग निर्मूल पार्ने, पितृलाई पार तार्ने, दीनदु:खीको कल्याण गर्ने र चिताएका कुरा पूरा हुने विश्वासमा कमी आएको छैन । ‘छोरी–छोरी जन्मेपछि हलेसी महादेवको दर्शन गरेर पुत्रलाभको कामना गरेपछि भूटानका पूर्वनरेश जिग्मे सिङ्घे वाङ्चुकको जन्म भएको वाङ्चुककी आमाले हलेसी आउँदा बताएकी थिइन् ।
जापान, फ्रान्स, अमेरिका, थाइल्यान्ड, भूटान, तिब्बत, भारत र नेपालका विभिन्न ठाउँबाट हलेसी महादेवको दर्शन गर्न आउने गर्छन् । सालिन्दा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र तीजमा यहाँ भव्य मेला लाग्छ ।

तुवाचुङ : किरात आदिम सभ्यता बोकेको ठाउँ हो– तुवाचुङ । आफ्नो उद्गमस्थल मान्ने तुवाचुङमा किरात राई जातिका आदिम पुर्खा तायामा, ख्लियामा र खोचिलिप्पाले पहिलोपटक खेतीपाती गर्न थालेका थिए । कपासको खेती गर्दै तायामा, ख्लियामा (दिदीबहिनी)ले यही ठाउँमा खाँडी कपडा बुनेर कपडा उद्योग सञ्चालनमा ल्याए । त्यस्तै खोचिलिप्पा (तायामा र ख्लियामाका भाइ)ले सुँगुरपालन गरेको प्रमाणका रूपमा सुँगुरखोरको भग्नावशेषस्वरूप केही ढुंगा अझै भेटिन्छन् । उल्लिखित लोककथा सुनेर यहाँसम्म आउनेहरू बढ्दै गएका छन् । किरात ऐतिहासिक महत्त्व बोकेको यो ठाउँको प्रचार–प्रसार गरेमा ऐतिहासिक पर्यटकीयस्थल बनाउन सकिनेछ ।

साल्पापोखरी : खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको सिमानामा पर्ने साल्पापोखरीलाई गंगा नदीको शिर मानिन्छ । त्यसैले यो पोखरीलाई पवित्र मानिएको हो । भनिन्छ– साल्पामा नुहाएपछि गंगामा नुहाउनु हुँदैन । यहाँ सालिन्दा दुईपटक मकर नुहाउने ठूलो मेला लाग्छ ।
साल्पापोखरी र खोटाङको बराहपोखरी दिदीबहिनी हुन् भन्ने किम्वदन्ती रहेको छ । साल्पापोखरी जाँदा बाटोमा थुप्रै स–साना पोखरी भेटिन्छन् । बाटोमा कालो रंगको पानी देखिने अचम्मको पोखरी छ । जसलाई हाँडीपोखरी भनिन्छ । ३६७२ मिटर उचाइमा रहेको साल्पापोखरीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सके खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा फाइदा पुग्नेछ ।

बराहपोखरी : पाँच किलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोस दक्षिणमा पर्छ । बराहपोखरी गाउँ विकास समितिको ६ नम्बर वडामा रहेको यो पोखरीमा डुबुल्की मार्न रहर गर्नेको भीड लाग्ने गर्छ । विशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म मेला लाग्ने पोखरीआसपासमै रहेको महमाई र शंखेश्वरको पूजा आराधना गर्दा चिताएको पूरा हुने धर्मभीरुहरू विश्वास राख्छन् । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै हिजोआज पनि यहाँ परेवा उडाउने गरिन्छ । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ ।

ट्याम्के : पूर्वाञ्चलकै उचाइमा रहेको डाँडो हो– ट्याम्के । ३,११० मिटर उचाइमा रहेको यहाँबाट हिमाल, पहाड तराई नियाल्नुको आनन्द अरू केहीसँग तुलना गर्न सकिँदैन । यही ठाउँमा ३६५ फिट अग्लो ‘गणतन्त्र टावर’ बन्दै छ । अमेरिकाको लिबर्टी स्ट्याचु, फ्रान्सको आइफल टावर र भारतको इन्डियागेट जस्तै महत्त्व राख्ने किरात गणराज्य स्मारकका रूपमा बन्दै गरेको सो टावर विश्वकै सबैभन्दा उचाइमा बन्दै गरेको टावर भनेर दाबी गरिएको छ ।
बन्दै गरेको टावरभित्र किराती सांस्कृतिक संग्रहालय, पुस्तकालय, मेडिकल हल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र दसवर्षे जनयुद्धको संस्मरण कक्ष बनाइने भएकाले ट्याम्के लोभलाग्दो पर्यटकीय स्थल बन्नेछ । टावर बनेपछि खोटाङमा हलेसीपछि दोस्रो ठूलो पर्यटकीय स्थल बन्नेछ ट्याम्के ।

रुपाकोट : २३०० मिटर उचाइमा रहेको रुपाकोट जालपा, खार्मी, दिक्तेल र नेर्पा गाविसको शिर मानिन्छ । हिजोआज फुर्सद मिल्नसाथ रुपाकोट चढिहाल्छन् । नयाँ वर्षको अघिल्लो दिन नै रुपाकोट पुगी पुरानो वर्षको अन्तिम सूर्यास्त अवलोकन गरी मध्यरातसम्म नाचगान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्छन् खोटाङेहरू । रुपाकोटबाट धेरै बेरसम्म सूर्याेदय र सूर्यास्तको दृश्य नियाल्न सकिन्छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

1 Comment for “घुम्न जाउँ खोटाङ”

  1. जानकारीका लागि धन्यवाद !

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1