ग्रेट हिमालय ट्रेल्सको निर्देशिका तयार

काठमाडौं । संसारकै लामो र समुद्री सतहबाट उच्च स्थानमा रहेको पदमार्गमध्ये एक ‘ग्रेट हिमालय ट्रेल्स’को गुणस्तर नेपालको पूर्वदेखि पश्चिमसम्म समान प्रकारको हुनुपर्ने भएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार सरकारले ग्रेट हिमालय ट्रेल्स निर्माणसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउँदै पदमार्ग निर्माणको मापदण्ड तोकेको हो । नेपालको जुनसुकै गन्तव्यबाट पनि ग्रेट हिमालय ट्रेल्समा पदयात्रा गर्न आइपुग्ने पर्यटकलाई समानस्तरको सेवा–सुविधा, गुणस्तर र सुरक्षाको अनुभूति गराउने उद्देश्यबमोजिम निर्देशिका बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । ‘नेपालको पर्यटन विकासका लागि महत्वाकांक्षी योजनाका रूपमा ग्रेट हिमालयनट्रेल्सको परिकल्पना गरिएको हो,’ उनले भने, ‘अब यो पदमार्गको निर्माण विश्वस्तरीय मापदण्डमा आधारित हुनेछ ।’

निर्देशिकाले समेटेका क्षेत्र
निर्देशिकाले ट्रेल्सको योजना, डिजाइनदेखि सञ्चालनसम्मको मापदण्डलाई समेटेको छ । खासगरी पदमार्गलाई वातावरणमैत्री बनाउनुपर्ने, त्यसबाट स्थानीय कलासंस्कृतिको संरक्षण गर्दै आर्थिक विकासमा टेवा पुर्या‍उनुपर्नेछ । ट्रेल्स बनाउँदा सिँढी, पुल कहाँ राख्ने, त्यसको स्तर र मापदण्ड कस्तो हुने, भीरमा कस्तो संरचना बनाउने भन्ने मापदण्डसमेत निर्देशिकामा तोकिएको छ । पदयात्रा मर्मत, सूचना प्रवाह, पदमार्गमा राख्नुपर्ने चिह्न–संकेत, आकस्मिक उपचारको व्यवस्था तथा दिगो विकासका सम्पूर्ण मुद्दालाई समेट्ने गरी निर्देशिका बनाइएको घिमिरेले जानकारी दिए । यसबाहेक शौचालय रहनुपर्ने दूरी, पदमार्गका विभिन्न स्थानमा विकास हुने पर्यटकीय संरचनाहरूको पनि मापदण्ड निर्देशिकाले कायम गरेको छ ।

निर्देशिकाले समेटेका केही क्षेत्र
-पदमार्गको प्लानिङ मोडल
– गुणस्तर मापदण्ड (स्वास्थ्य र सरसफाइ, सेफ्टी–सेक्युरिटी, चिह्न–संकेत, मर्मत र सेवा–सुविधा)
-ट्रेलको वर्गीकरण (वाकिङ ट्रेल्स, ट्रेकिङ ट्रेल्स र हाई माउन्टेन ट्रेकिङ ट्रेल्स)
-जोखिम व्यवस्थापन रणनीति
– पदमार्गको स्ट्यान्डर्ड (पदयात्राको उद्देश्य, गतिविधि, समयलगायत)

ग्रिन फ्लाग ट्रेल्स नेटवर्कमा पर्ने
निर्देशिकाले तोकेका मापदण्ड पूरा गरी निर्माण भएपछि ग्रेट हिमालय ट्रेल्स ‘ग्रिन फ्लाग ट्रेल्स इन्टरनेसनल’भित्र पर्नेछ । यो विश्वस्तरीय ट्रेल नेटवर्क हो । यसबाट नेपालका पदमार्ग पनि विश्व गुणस्तर कायम गरी बनाइएका छन् भन्ने सन्देश प्रवाह हुने घिमिरेले बताए । घिमिरे यो निर्देशिका तयार पार्ने गठित समितिका संयोजक पनि हुन् ।

कार्यान्वयनको अनुगमन गर्न जनशक्ति तयार
ग्रेट हिमालय ट्रेल्सअन्तर्गत विकास गर्ने हरेक पदमार्गको मापदण्ड तोकिएबमोजिम भए–नभएको अनुगमन गर्न मन्त्रालयले ११ जना अडिटरहरूसमेत तयार पारिसकेको छ । मन्त्रालयका सहसचिव घिमिरेका अनुसार निर्देशिकाको उद्देश्य, प्राविधिक पक्ष र भौतिक संरचनाको मापदण्डका सम्बन्धमा तालिम दिई अडिटर तयार पारिएको हो । उनीहरूलाई कार्यक्षेत्रमा खटाएर अनुगमन गरिने र पदमार्ग तथा गन्तव्य विकासका क्रममा मापदण्ड पूरा नभएको पाइए मन्त्रालयले थप कारबाही अगाडि बढाउने योजना रहेको उनको भनाइ छ ।

ग्रेट हिमालय ट्रेल्समा समावेश १० चर्चित ट्रेकिङ रुट
-कञ्चनजंघा क्षेत्र
– मकालु–वरुण
– एभरेस्ट–रोल्वालिङ
– हेलम्बु–लामटाङ
– गणेश हिमाल–लामटाङ
– अन्नपूर्ण–मुस्ताङ
– डोल्पा
– रारा–जुम्ला
– हुम्ला
-सुदूरपश्चिम

के हो ग्रेट हिमालय ट्रेल्स ?
संसारकै लामो र अग्लो पदमार्गमध्ये एक पदमार्गको परिकल्पनाका रूपमा ग्रेट हिमालय ट्रेल्सलाई लिइएको छ । नेपालको सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मको भूभाग ओगटेको यस पदमार्गले नेपालका सबै हिमाली जिल्लालाई छुन्छ । यो ट्रेल नेपालबाहिर तिब्बत, भारत, म्यानमार र पाकिस्तानसम्म फैलिएको छ । यो पूर्ण रूपमा नयाँ पदमार्ग होइन, पुराना पदमार्गहरूलाई पनि यही स्तरमा विकास गरी बृहत् पदमार्गको अवधारणा ल्याइएको हो । यसको अवधारणा लामो समयदेखि आए पनि सन् २००९ देखि औपचारिक रूपमा कार्यक्रम सुरु गरिएको छ । नेपालभित्र यसले करिब १ हजार ७ सय किलोमिटर दूरी समेट्छ । यो नेपालसहित कुल ४ हजार ५ सय किलोमिटर लामो ट्रेल हो । नेपालभित्र कुल १० वटा ट्रेकिङ रुटलाई समेटेर ग्रेट हिमालय ट्रेल्सको परिकल्पना गरिएको हो ।

‘आजसम्म विनाकुनै मापदण्ड जसलाई जुन रूपमा विकास गर्न मन लाग्यो, त्यही रूपमा पदमार्गको निर्माण भइरहेको थियो । अब कम्तीमा पनि ग्रेट हिमालय ट्रेलअन्तर्गत पर्ने पदमार्ग निश्चित मापदण्डविना निर्माण हुनेछैन । यसले नेपाली पर्यटकीय पूर्वाधारको गुणस्तर वृद्धिमा सहयोग गर्छ ।’  नयाँ पत्रिका दैनिक लेख्छ ।

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1