गलकोटमा स्टोन भिलेज (ढुङ्गे गाउँ) विकास गरिने

galkotबागलुङ, १६ माघ । स्थानीय स्लेट ढुङ्गाबाट बनेका मानव बस्तीको प्राकृतिक र परम्परागत सुन्दरता जोगाएर पर्यटन प्रवद्र्धनको निम्ति स्टोन भिलेज (ढुङ्गे गाउँ) को अवधारणा अघि सारिएको छ ।
बागलुङ जिल्लाको गलकोट क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाउँ बस्तीलाई ‘ढुङ्गैढुङ्गाको गाउँ’ का रूपमा विकास गर्न गलकोट घुम्टे पर्यटन विकास केन्द्रले पर्यटन परिषद्बाट कार्यक्रम तय गरेको हो । गलकोट क्षेत्रमा पाइने प्रसिद्ध स्लेट ढुङ्गाको प्रयोग गरेर घर, गोठलगायत मानव बस्तीका भौतिक संरचना र पूर्वाधार निर्माण गर्ने र भएका परम्परागत संरचनाको संरक्षण गर्ने लक्ष्य लिइएको केन्द्रका अध्यक्ष झम्कबहादुर बस्नेतले बताउनुभयो । केन्द्रले तय गरेको उक्त अवधारणा तथा कार्यक्रमलाई पर्यटक लोभ्याउने नयाँ जुक्तिका रूपमा लिइएको छ । गलकोट क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाविसमा अहिले पनि अधिकांश घर गोठ स्थानीय ढुङ्गा र काठको प्रयोग गरेर निर्माण गरिएका छन् ।     “स्थानीय स्लेट ढुङ्गाबाट बनेका घर गोठको परम्परागत सुन्दरता जोगाउने र बस्तीलाई नै ढङ्गे गाउँका रूपमा विकास गर्ने लक्ष्य हाम्रो रहेको छ” अध्यक्ष बस्नेतले भन्नुभयो, “आयातित र कृत्रिम वस्तुको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्रोतसाधनको प्रयोगलाई बढाउनेछौँ ।” उहाँले घर गोठ निर्माण गर्ने, छाना छाउने, आँगन, पिँढी र बाटोमा पनि स्थानीय स्लेट ढुङ्गा बिछ्याइने जानकारी दिनुभयो । गलकोट क्षेत्रमा अहिले पनि त्यस्ता कयौँ पुराना बस्ती रहेकाले तीनको संरक्षण र सुन्दरता कायम राख्न केन्द्रले पहल गर्ने भएको हो ।
आगामी वर्षको कार्ययोजनामा पारेर केन्द्रले स्टोन भिलेजको अवधारणालाई मूर्त रूप दिन छिट्टै काम सुरु गर्ने जनाएको छ । सुरुमा केन्द्रले बाक्लो बस्ती भएको ठाउँलाई स्टोन भिलेज का रूपमा विकास गर्नेछ । प्रारम्भिक चरणमा पर्यटन तथा संस्कृतिसँगसम्बन्धित विज्ञलाई बोलाएर केन्द्रले स्थलगत अध्ययन र अवलोकन गराएपछि व्यवस्थित कार्ययोजनामार्फत काम अघि बढाउने केन्द्रका सचिव राज थापाले बताउनुभयो ।
योजना निर्माण तथा कार्यान्वयनका लागि चाहिने आर्थिक व्यवस्थापनका लागि पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरा र अन्यसम्बन्धित निकायमा सहयोगका लागि पहल गरिने थापाले जानकारी दिनुभयो ।
केन्द्रले आगामी वर्षभित्र ७० लाखभन्दा बढी बजेट सङ्कलन गरेर पर्यटन विकासको काम गर्ने लक्ष्य पनि लिएको छ । “ढुङ्गे गाउँलाई नमुना गाउँ बनाएर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नै हाम्रो लक्ष्य हो” सचिव थापाले भन्नुभयो, “यस कार्यमा स्थानीयको पनि राम्रो सहयोग हुने हाम्रो विश्वास छ, सबैजना उत्साहित हुनुभएको छ ।” यसलाई गलकोटकै पहिचानको रूपमा विकास गरिने उहाँको भनाइ छ ।
गलकोट क्षेत्रको तारा, हिल, अर्गल, अमरभूमि, मल्म, हरिचौरलगायतका गाविसमा रहेका ढुङ्गा खानीबाट निस्कने स्लेट ढुङ्गा स्तरीय मानिन्छ । पोखरा, काठमाडौँलगायतका सहरमा यहाँको स्लेट ढुङ्गा बिक्री हुने गरेको छ । छाना छाउन, पर्खाल उठाउन, पिंढी, आँगन र सडकमा समेत बिछ्याउनका लागि त्यस्तो ढुङ्गा प्रयोग हुने गरेको छ । स्लेट ढङ्गा हेर्दा पनि आकर्षक देखिन्छ ।
त्यस्तै केन्द्रले सामाजिक शिक्षाको स्थानीय विषय समेटिने पाठ्यक्रममा २० प्रतिशत घुम्टे क्षेत्रका बारेमा राख्न जिल्ला शिक्षा कार्यालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । घुम्टे लेकलाई जैविक विविधता र सांस्कृतिक विविधता अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, घुम्टेको वनलाई संरक्षित वन बनाउन पहल गर्ने, गलकोटमा पर्यटन विकासका लागि दुई वर्षीय योजना र पा“च वर्षीय रणनीति बनाइने भएको छ ।
घुम्टे पर्यटन वर्ष–२०७० को अवसरमा दस हजार भक्तजन तथा आगन्तुकलाई घुम्टेको लेकमा लैजाने लक्ष्य पनि केन्द्रले लिएको छ । आगामी चैत महिनामा केन्द्रको आयोजनामा घुम्टेको लेकमा गुराँस उत्सव पनि हुने भएको छ । रासस, तस्वीरः इबागलुङ डट कम

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1