उत्तरपूर्वी भारतसँग पर्यटनमा साइनो गाँसिदै


काँकडभिट्टा । पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इस्टर्न हिमालयन ट्राभल्स एन्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतका विषय समेटिएको थियो । पर्यटनका लागि साझेदारीको क्रम अघि बढाउन र पोखराको पर्यटन प्रवद्र्धन गर्न यस वर्ष पनि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको बोर्डको पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिनुभयो ।

“यस वर्ष जुन ९ देखि १४ सम्म गरिने कार्यक्रमका क्रममा भारतको सिलगुडी, डुअर्स र ग्याङ्टोकमा त्यहाँका पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग पोखरासहित समग्र नेपालको पर्यटनको विकास र साझेदारिता सम्बन्धमा छुट्टाछुट्टै छलफल एवम् अन्तक्र्रिया गरिने छ,” उहाँले भन्नुभयो, “उत्तरपूर्वी भारतका अधिकतम पर्यटकलाई नेपाल भित्र्याउन र उनीहरूको बसाइ लम्ब्याउन प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक महसुस गरी बोर्डले यस्तो कार्यक्रमलाई प्राथमिकता दिएको हो ।”

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिकरुपले पनि नेपालको भ्रमणका लागि आउने गरेका छन् ।

पूर्वी हिमाली शृङ्खलासँग जोडिएका यी भूभागमा नेपाली भाषीको बाहुल्यता रहेको पाइन्छ । अफगानिस्तानबाट पाकिस्तान हुँदै सुरु हुने विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकाले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका यी क्षेत्रको संयुक्त विकासको विषय पछिल्लो समय सबैको चासोको विषय बनेको छ ।

नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तर पूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ ।

नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि विस्तारै यहाँको पर्यटन क्षेत्रले गति लिन थालेको छ र यसले सिक्किम तथा भुटानमा पनि सकारात्मक प्रभाव पार्दैछ ।

भारतका सिलगुडी, डुअर्स, ग्याङ्टोकका साथै सिक्किम, दार्जिलिङ हुँदै मणिपुरलगायतका स्थानबाट धेरै भारतीय पर्यटक काँकडभिट्टासहित पूर्वी क्षेत्रका नाका हुँदै नेपाल आउने गरेका छन् ।

काँकडभिट्टा हुँदै पोखरालगायतका स्थानमा जाने पर्यटकलाई राजमार्गमा पनि उत्तिकै सहज आवागमनको व्यवस्था हुनु आवश्यक देखिएको सरोकारवाला बताउँछन् ।

काँकडभिट्टालगायतका पूर्वी नेपालका नाकाबाट भित्रिने पर्यटकलाई बन्द हडतालले प्रत्यक्ष प्रभाव पार्ने गरेका कारण त्यस्ता गतिविधि अन्त्य नै गरिनुपर्ने तनहँु दुलेगौंडा घर भई रोजगारीका क्रममा हाल मणिपुरमा बस्दै आउनुभएका दीपक खनालले बताउनुभयो ।

“भारतीय पर्यटकको आगमनको सम्भावनालाई दृष्टिगत गरी काँकडभिट्टालगायतका नाकाबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जान सुविधासम्पन्न सवारीसाधनको व्यवस्था गरिनु आवश्यक छ,” विगत १५ वर्षयता उक्त मार्गमा आवतजावत गर्दै आएका खनालले भन्नुभयो, “यात्राका क्रममा बन्द हडतालका कारण बाटोमा पाउने सास्ती, अव्यवस्थित सडक जस्ता समस्याले नकारात्मक असर पार्ने हुँदा त्यसतर्फ सम्बन्धित निकाय बेलैमा सचेत बन्नु आवश्यक छ ।”

नेपालको पर्यटनको मुख्य बजार छिमेकी राष्ट्र चीन र भारत हुन् । भूकम्पपछि चीनबाट आउने पर्यटकको सङ्ख्यामा निकै कमी आएको छ भने, भारतबाट पनि अपेक्षित पर्यटक आएका छैनन् ।

वरिष्ठ अधिकृत थपलियाले भन्नुभयो – “नेपाल आउने कुल पर्यटकमध्ये २० देखि २५ प्रतिशत भारतीय पर्यटकलाई नेपालमा आर्किषत गर्न र उनीहरूको बसाइ लम्ब्याउन बोर्डले प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । यसका लागि पर्यटन व्यवसायीमा पनि पर्यटकमैत्री व्यवहार अपरिहार्य हुने बताउनुभयो ।”  -वासुदेव पौडेल, रासस

तपाई पर्यटनसम्बन्धी समाचार सिधैं फेसबुक ट्वीटरमा प्राप्त गर्न लिङ्कमा क्लिक गरेर फलो वा लाइक गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • Dilli Bhattarai: नेपाल र भारतका धेरै तिर्थयात्री नेपालको मुस्ताङ जिल्लामा रहेको मुक्तिनथ र तिब्बतमा रहेको...
  • Puran: Lovely village, want to return to visit again
  • Dilli Bhattarai: नेपाली राष्ट्रिय बुद्धिस्ट सिर्किट लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुस्थित तिलौराकोट र ५७...
  • भुपेन्द्र बिस्त: तपाईं लाई धेरै भन्दा धेरै धन्यवाद जानकरिको लागि ।अब भने देश का सासक नेता हरुले केही गर्नु पर्ने...
  • Krishna Sapkota: जानकारीका लागि धन्यवाद !
UA-53901606-1